जनकपुर समाचारदाता
जनकपुरधाम, भदौ १ गते । प्रदेश नं. २ को राजधानी जनकपुरधाममा सोमबार कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएपछि धनुषामा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नाै पुगेको छ ।
आज मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका वडा नंं ३ का एक ६५ वर्षीय पुरुष रहेको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका ती पुरुषमा श्वासप्रश्वास, रुघाखोकीजस्ता समस्या रहेको र उपचारकै क्रममा मृत्यु भएको कोरोना विशेष अस्पतालका संयोजक डा. जामुनप्रसाद सिंहले जानकारी दिनुभयो ।
मृतक साउन ३१ गते अस्पतालको आइसोलेसनमा भर्ना भएको थियो । दम रोगका बिरामी उहाँलाई श्वासप्रश्वासमा समस्याका साथै रुघाखोकी लागेपछि साउन २६ गते पीसीआर चेक गर्दा कोरोनाको पुष्टि भएको थियो । कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना भएर उपचार गराइरहेका उहाँको स्वास्थ्य अवस्था बिग्रेपछि आज आईसियुमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक वामपन्थी नेता रहेको बताइएको छ ।