धीरेन्द्रप्रसाद साह
राजविराज, भदौ ४ गते । सप्तरीमा कोरोना जितेर निको हुनेको सङ्ख्या उल्लेख्य रहेको छ । स्वास्थ्यकर्मीहरूको सक्रियतामा कोरोना जित्नेहरूको सङ्ख्या वृद्धि हुँदा नयाँ सङ्क्रमितहरूको मनोबल पनि बढ्दैगएको छ ।
यसैक्रममा गएराति एक पटक २० जना पुरुष कोरोना जितेर आइसोलेसनबाट डिस्चार्ज भएका छन् । यससँगै जिल्लामा कोरोनाबाट निको हुनेकाे सङ्ख्या ४८१ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिनुभयो ।
गएराति राजविराजस्थित साईकृष्ण मेडिकल भवनमा सञ्चालित आइसोलेसन केन्द्रबाट १० र तिलाठी कोइलाडी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसनबाट १० जना गरी २० जना डिस्चार्ज भएको उहाँले बताउनुभयो ।
जिल्लामा बिहीबारसम्म ७०७ जनामध्ये आइसोलेसनबाट ४९ महिला र ४३२ गरी ४८१ जना निको भएको उहाँले बताउनुभयो । अहिले साईकृष्ण मेडिकल भवनमा सञ्चालित आइसोलेसन केन्द्रमा ११३, तिलाठी कोइलाडी गाउँपालिकाको आइसोलेसनमा २३, होम आइसोलेसनमा ५९ र प्रहरी तालिम केन्द्र आइसोलेसनमा २२ जना गरी २१७ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयका निमित कार्यालय प्रमुख दुनियालाल यादवले बताउनुभयो ।
बिहीबार थपिएको एक स्वास्थ्यकर्मीसहित पाँचजना सङ्क्रमितलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको बताइएको छ । जिल्लामा १२ हजार १७५ जनाको स्वाब सङ्कलन गरिएकोमा १० हजार ९८२ जनाको परीक्षण भइसकेको छ । तीमध्ये १० हजार २८० जनाको नेगेटिभ रिपोर्ट आएको छ भने एक हजार १९३ जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । जिल्लाको विभिन्न स्थानीय तहहरूले सञ्चालन गरेको क्वारेन्टाइनमा ३४५ जना मात्र रहेका छन् ।
एक स्वास्थ्यकर्मीसहित पाँच जनामा कोरोना
बिहीबार एक स्वास्थ्यकर्मी र एक सञ्चाकर्मीसहित पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ६ बस्ने ५५ वर्षीय स्वास्थ्यकर्मी, राजविराज नगरपालिका वडा नं. १३ का ३५, ३५ वर्षका दुई पुरुष र वडा नं. नखुलेको ३० वर्षीया महिला तथा बोदेबर्साइन नगरपालिका ३ का २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।