logo
२०८१ मंसिर १० सोमवार



प्रिय राष्ट्रकवि ‘अबिच्योरी’ होइन मेरो शोकाप्ति

शनिवार |


प्रिय राष्ट्रकवि ‘अबिच्योरी’ होइन मेरो शोकाप्ति


केदार वाशिष्ठ

शोकाप्ति शब्द धेरैलाई अर्थ नलाग्ने हुन सक्छ । कसैको मृत्यमा बाहेक सितिमिति प्रयोगमा नआउने नै शब्द हो– शोकाप्ति । भाषाका शब्दको प्रयोग कि त लोकको बोलीमा हुन्छ कि विद्वत् वर्गको बौद्धिक बहसमा पाइन्छ ।
मैले शोकाप्ति शब्दको प्रयोग राजनयिक विद्वान् प्रदीप गिरीबाट सुनेको हुँ । कसैको निधनपछि उनको जीवनवृत्तबारे गिरीले टेलिभिजनमा दिएको विचारमा यो शब्दको प्रयोग सुनेको हुँ ।
ती दिवङ्गत को थिए भन्ने भन्दा पनि मलाई शोकाप्ति शब्दले प्रभाव छाड्यो । त्यसैले ती दिवङ्गतप्रति उदासीन बनेछु तर यसो भन्दा उनीप्रति मेरो असंवेदनशीलता भने होइन । सायद मानवीय गुण पो हो कि ?
बरु म दिवङ्गतबारे उदासीन हुनु र उनी को थिए भन्ने पनि थाहा पाउन नसक्नुसँग सम्भवतः शोकाप्तिको भावनात्मक अर्थ गाँसिएको हुनुपर्छ । त्यसैले मलाई दिवङ्गतको व्यक्तित्वले भन्दा शोकाप्ति शब्दको प्रयोगले तान्यो । तर, त्यसको प्रयोग वा शब्दनिर्माण अथवा अर्थ खोज्न शब्दकोशहरू पल्टाउने जमर्को नै गरिनँ । किनभने त्यसको प्रयोगको अवस्था नै आएन । अर्थात् मैले शोकाप्ति नै लेख्नुपर्ने प्रिय मानिसलाई मैले त्यसबीचमा गुमाउनुपरेन ।
२०७७ भदौ २ गते अपराह्न कार्यकक्षमा रहँदा नै साथी दीपक श्रेष्ठले मसँग प्राध्यापक डाक्टर हेमाङ्गराज अधिकारीको फोन तपाईंसँग ‘छ नि है’ भन्दै माग्नुभयो । उहाँको भनाइ थियो, ‘पहिले माधव घिमिरे दिवङ्गत भएको हल्ला चल्दा तपाईंले उहाँसँग फोन गरेर हल्ला असत्य रहेको पुष्टि गर्नुभएको थियो ।’
दीपकजीको भनाइलाई शेषकान्तजीले पनि पुष्टि गर्नुभयो । तर, यो अचम्म तालले फोन मगाइले मेरा नौ नारी गलायो । करिब–करिब राष्ट्रकविले हामीलाई छाडेर महाप्रस्थान गरिसक्नुभएको अनुमान गरेँ । तत्काल मोबाइल निकालेर हेमाङ्ग काकालाई फोन लगाएँ । उताबाट ‘हेलो केदार’ भन्नेबित्तिकै सोधेँ, ‘अलि गडबड कुरा सुनिन्छ नि ? के हो ?’
उहाँले मेरो अनुमानलाई ‘सत्य’ भनिदिनुभयो । अर्थात् राष्ट्रकवि माधवप्रसाद घिमिरेको मृत्यु सत्य थियो । वास्तवमा मृत्यु सबैका लागि शाश्वत हो । हेमाङ्ग सर माधव घिमिरेका छोरीज्वाईं । उहाँको कुराभन्दा आधिकारिक मलाई अरू केही लागेन ।
यो माधव घिमिरेकै जेठी पत्नी गौरीको निधनमा उहाँले नै २००४ मा रचना गरेको शोककाव्य गौरीको श्लोकजस्तै अकाट्य सत्य थियो ।
हे नारायण के भयो ! जुन कुरा भन्थेँ नहोस्, त्यै भयो
छैनौ हे सँगिनी ! तिमी कि अहिले संसार नै छैन यो ।
वास्तवमा राष्ट्रकविले अपराह्न ५ः५५ तिर नै देहत्याग गरिसक्नुभएको रहेछ । त्यसको समाचार र त्यसपछि पनि उहाँको शोकमा प्रकाशन गर्ने सामग्रीबारे केही छलफल भयो तर त्यसका लागि प्रयुक्त शब्द भने ‘अबिच्योरी’ गरिएको थियो ।
खासमा सामाजिक सञ्जालले दिवङ्गतप्रति श्रद्धा जनाउनेक्रम बढेको छ । मान्छे कसैप्रति श्रद्धा र समर्पण जनाउँछ, त्यो बाँचुन्जेल उसले गरेको कर्मका आधारमा आममानिसमा परेको प्रभाव हो । त्यही मान्छे दिवङ्गत हुँदा त्यसमा शोक र सम्मान थपिएको हुन्छ, त्यसको भावनात्मक रूपलाई भाषाका शब्दमा लेखेर सम्मान जनाउनु शोकाप्ति हो । अर्थात् शोकाप्ति शोकपूर्ण सम्मान हो ।
त्यसरी व्यक्त भावनात्मक भाषा स्वाभाविक नेपाली, विकृत अङ्ग्रेजी र अल्छे चित्रमा सामाजिक सञ्जालमा प्रयोग हुन थालेको पाइन्छ । ‘श्रद्धाञ्जली’ र ‘समवेदना’का शब्द प्रयोग गर्न सकिने नेपाली भाषाका ठाउँमा ‘रिप’ (आरआईपी) वा त्यति पनि लेख्न नसक्नेले अल्छी मान्दै सहभागिता जनाउन सामाजिक सञ्जालमा राखिएका बनिबनाउ चित्र प्रयोग भएका पाइन्छन् । वास्तवमा ती शोकाप्ति होइनन् ।
अनलाइन र समाचारपत्रहरूमा पनि राष्ट्रकविको सम्मानमा तात्ताता अबिच्योरी आए । तीमध्ये कतिपय उहाँको अघिल्लो मृत्यु हल्लापछि लेखिएका थिए, अर्थात् बनिबनाउ । विश्वमै अखबारहरूले यस्तो गर्ने प्रचलन छ तर त्यो प्रतिस्पर्धात्मक बजारमा अगाडि आउनका लागि ।
सञ्चार क्षेत्र र सामाजिक सञ्जालका शोक र समवेदना संवेदनाविहीन कृत्रिम हुन्छन् भन्ने उदाहरण अघिल्लो मृत्यु हल्ला बनेको छ । त्यसबेला देशको सारा सूचना संयन्त्रको हर्ताकर्ता बनेका तत्कालीन गृहमन्त्रीसमेतले आधिकारिकता पुष्टि गर्नेतिर नलागी श्रद्धाञ्जली दिएकोबाट देशबाट संवेदना हराएको पुष्टि हुन्छ । अनि त्यस्तो कार्य कसरी शोकाप्ति हुन सक्छ र ?
यस आधारमा सबै अबिच्योरी शोकाप्ति नहुन सक्छन् बरु बजारमा बिकाउका नयाँ वस्तु हुने देखिन्छ । त्यसैले नेपाली पत्रकारिताले र सामाजिक सञ्जालका प्रयोक्ताले पनि अबिच्योरी होइन शोकाप्तितिर ध्यान दिने बेला आएको छ ।
शोकाप्ति शब्द शब्दकोशमा पाइँदो रहेनछ । शोक र आप्ति शब्द खोजेर संयोजन गर्ने हो भने मजाले शोकाप्ति बन्ने रहेछ, जसको अर्थ हुन्छ– शोकपूर्ण अवस्थामा सम्मान प्रकट ।
माधव घिमिरेको कालजयी र सङ्घर्षका कथा र व्यथा दुवै छन् । तिनको लोखाजोखा शोकाप्तिमा हुँदैन (हुनुहुँदैन पनि) । उहाँलाई खाँट्टी राष्ट्रवादी भन्ने मान्छे पनि पाइन्छन् भने उहाँको राष्ट्रवाद सत्ताको केन्द्रवरिपरि रहेको हो भन्ने जमात पनि पाइन्छ । त्यसको निक्र्यौल शोकाप्तिमा हुँदैन । तर, ती दुवै वर्ग नेपाली भाषा र साहित्य साधनामा माधव घिमिरेको लगन, त्याग, समर्पण, परिष्कारबाट प्रभावित छ ।
मेरो मन चाहान्थ्यो– हेमाङ्ग सरबाट करिब तीन वर्षपहिलेको जस्तै यसपटकको पनि हल्ला असत्य हो भन्ने जवाफ आओस् । र, उहाँको जीवनलाई नेपालीको माया ममताले अरू सिँचित गर्न पाओस् । किनकि त्यसबेलाको असत्य मृत्युपछि माधव घिमिरे आफैँले लेख्नु भएको थियो ः
अचम्म भो, अचम्म भो अचम्म भो
मैले नेपालीको माया पनि पाएँ
यही जुनीमा अर्को जुनी पाएँ ।
वास्तवमा नेपालीको अथाह माया, ममता, सद्भाव र सम्मान उहाँको शताब्दीपारिको यात्राका भिटामिन थिए ।
समान्यतः मान्छेको उमेर १०० वर्ष मानिन्छ । तर, माधव घिमिरे १०२ वर्ष बाँच्नुभयो । उहाँको १०० वर्षपछिको जुनी उहाँले नै भनेजस्तै अर्को जुनी नै थियो । पछिल्लो जुनीमा पनि उहाँ पहिलो जुनीकै बाँकी कार्यलाई पूरा गर्न तल्लीन रहनुभयो । मेरो मनमा शङ्का थियो कतै ‘ऋतम्भरा’ पूरा हुँदैन कि ?
तर, हेमाङ्ग सरका अनुसार ऋतम्भरा महाकाव्य अब पूरा भएछ, त्यसलाई सकेर उहाँ जानुभयो । त्यसैले जाँदाजाँदै राष्ट्रकविले दिएको सन्देश यो हो कि– आफ्नो कर्तव्य र वाचा हरहालतमा पनि पूरा गर्नुपर्छ । त्यसको साक्षी ऋतम्भरा हुनेछ ।
अन्त्यमा उहाँको कालजयी गीतको अंश ः
‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो नापिन्छ कहाँ हिमालै नरहे’
अर्थात् नेपाल रहेन भने हाम्रो पहिचान गुम्छ । र, हाम्रा पहिचान भनेका भूगोल, भाषा र संस्कृति पनि हुन् । तिनको सम्मान र सम्बद्र्धन गर्नु माधव घिमिरेको इच्छा पनि हो । उहाँका लागि मेरो हृदयबाट शोकाप्ति !  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?