logo
२०८२ भाद्र २४ मंगलवार



रुपन्देहीमा थप तीन सङ्क्रमितको मृत्यु

फिचर |
खुला |


रुपन्देहीमा थप तीन सङ्क्रमितको मृत्यु


दीपक ज्ञवाली
बुटवल, भदौ ७ गते । कोरोना सङ्क्रमणको जोखिम बढिरहेका बेला रुपन्देहीमा थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट रुपन्देहीका मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
आइतबार बुटवल उपमहानगरपालिका-१ की ६७ वर्षीय महिला र सम्मरीमाई गाउँपालिका-२ का ३८ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुवै जनाको दिउँसो मृत्यु भएको जानकारी गराउनुभयो ।
त्यसअघि रुपन्देहीकै रोहिणी गाउँपालिका-३ धकधइका ५३ वर्षीय पुरुषको शनिबार उपचारका लागि लैजाँदै गर्दा भारतको नौतन्हवामा मृत्यु भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहका अनुसार मृत्युपछि उहाँको स्वाब परीक्षण गर्दा आइतबार सङ्क्रमण पुष्टि भएकोे थियो । मृतक सञ्जयकुमार मिश्र नेपाल युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष हुनुहुन्थ्यो ।
कोरोना अस्पतालका फोकल पर्सन डा. थापाका अनुसार श्वासप्रश्वास र ज्वरो देखिएपछि भदौ एक गते अस्पताल आएका सम्मरीमाई गाउँपालिका पुरुषलाई अस्पतालले भदौ २ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरेको थियो ।
त्यस्तै, बुटवलकी महिला खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि साउन ३१ गते अस्पताल आउनुभएको थियो । उहाँलाई भदौ ३ गतेदेखि भेन्टिलेटरमा राखिएको थियो । शुरुमा निजी अस्पतालमा उपचार गराउनुभएकी र किड्नीमा समस्या भएकी उहाँमा पीसीआर पोजेटिभ देखिएपछि थप उपचारका लागि कोरोना अस्पतालमा ल्याइएको थियो ।
उता शनिबार मृत्यु भएका मिश्रको शव जलाउँदै गर्दा आइतबार कोरोना पुष्टि भएको खबर फैलिएको थियो । त्यस्तो सूचना लगत्तै मलामीहरू लाखापाखा लागेका थिए ।
रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले दाहसंस्कारमा सहभागी सबैलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?