logo
२०८१ मंसिर १४ शुक्रवार



सुरक्षा र सुविधासहित जोखिममुक्त एकीकृत बस्ती

फिचर |
खुला |
समाज |


सुरक्षा र सुविधासहित जोखिममुक्त एकीकृत बस्ती
मेलम्ची १२ मा निर्माण भएको थाक्ले नमूना एकीकृत वस्ती


विदुर आचार्य,
चौतारा, भदौ १४ गते । वि.सं. २०७२ को विनाशकारी महाभूकम्पपछि सिन्धुपाल्चोकमा २२ वटा एकीकृत बस्ती निर्माण भएका छन् । सुरक्षित र सुविधामा सहजता हुने आम धारणाले निर्माण भएका बस्तीकै अनुसरण गरेर बस्ती विस्तारको क्रम जिल्लामा बढ्दो छ । बढ्दो प्राकृतिक विपत्तिले पनि नागरिकहरूमा सामूहिक तथा एकीकृत बस्तीमा आकर्षण बढेको हो ।

तीनै तहका सरकारले प्राकृतिक विपत्तिमा परेका बस्तीलाई एकीकृत ढाँचामा स्थानान्तरण गर्न चाहेको बताएका छन् । जिल्लामा भूकम्पपछिको पुनःनिर्माण सुरु भएयता एकीकृत बस्ती निर्माणको अभियान सुरु भयो । जिल्लाभर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १५ वटा एकीकृत बस्ती निर्माण सम्पन्न गरेको छ । सुरुवाती चरणमा मेलम्ची नगरपालिका–१२ गिरानचौरमा धुर्मुस सुन्तली फाउण्डेसनले ६५ घरसहितको एकीकृत बस्ती निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको थियो । घरसहित बस्तीमा चिल्ड्रेन पार्क, सामुदायिक भवन, बिजुली, खानेपानी, सडक, गाउँघर क्लिनिकसहितको स्वास्थ्य सेवासहितको बस्तीले जिल्लामा अरु २१ एकीकृत बस्ती निर्माणमा जागरुकता पैदा गर्यो । भूकम्पपछि सिन्धुपाल्चोक जिल्लामा २२ वटा एकीकृत बस्तीमा एक हजार ३२० घर परिवार बसोबास गरिरहेको जिल्ला आयोजना कार्यान्वयन ईकाइको तथ्याङ्क छ ।

स्थानीय गैह्र सरकारी संस्था जनहित ग्रामीण सेवा समिति र महिला आत्मनिर्भरता केन्द्रको साझेदारीमा अक्सफामले हेलम्बु गाउँपालिकामा ५८ घरसहितको ह्योल्मो कला झल्कने बस्तीसहित ईद्रावती–५ भदौरेमाझीमा ३९ घर, जुगल गाउँपालिका–१ मा १९ घर, भोटेकोशी ट्याङ्थलीमा २३ घर, मेलम्ची नगरपालिका–१२ मा थाक्ले एकीकृत बस्तीमा ३२ घर र तेम्बाथान एकीकृत बस्तीमा ५८ घरसहितको एकीकृत बस्ती निर्माण भए ।

वि.सं ०७१ को जुरे पहिरोका विस्थापितलाई पनि एकीकृत बस्ती निर्माणको प्रयत्न भएको बलेफी–८ का अध्यक्ष चरीबहादुर तामाङ बताउनुहुन्छ । जुरे पहिरो पीडितको नाममा सङ्कलन भएको दुई करोड २४ लाख सरकारी खातामा रोकिएर बसेकाले एकीकृत बस्ती निर्माणको विषय अन्यौलमा परेको तामाङ बताउनुहुन्छ । ‘पहिरो पीडित र विस्थापितलाई वासस्थान आवश्यकता हो, हामीले सुरक्षित र एकीकृत आवास निर्माणको विषयमा लामो छलफल र तयारी समेत गरेका छौँ ।’ तामाङले भन्नुभयो ।

अभ्यासको क्रममा सुरु भएका एकीकृत बस्तीमा नागरिकहरूले सुरक्षाको प्रत्याभूति गरेको अनुभव सुनाउनुहुन्छ एकीकृत बस्तीको अभियन्ता बालकृष्ण देउजा । ‘हाम्रो भूगोल असहज र जोखिमयुक्त छ । सुरक्षित बसोबासको लागि एकीकृत बस्ती नै उत्तम विकल्प ठानेर बस्ती निर्माण सुरु गरेका हाैँ ।’ देउजाले भन्नुभयो ।

जिल्लाभर निर्माण भएका बस्तीमा भौतिक पूर्वाधार आवश्यकताको आधारमा थप्दै आएको जिल्ला कार्यान्वयन ईकाइका कृष्ण ज्ञवाली बताउनुहुन्छ । ‘निर्माण सम्पन्न भई बसोबास गरिरहेका सबै बस्तीमा नाला र टेवा पर्खाललगायतका काम चालू आर्थिक वर्षमा पनि भइरहेको छ । बस्ती संरक्षण र भौतिक निर्माणका काम भएका छन् ।’ ज्ञवालीले भन्नुभयो । जिल्लामा निर्मित अधिकांश एकीकृत बस्तीमा ‘एक बस्ती एक मोडल’मा विकास भएको छ ।

‘सुरक्षा र सुविधा एकीकृत बस्तीका फाइदा हुन्’, जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङ भन्नुहुन्छ, ‘विस्थापित बस्तीका नागरिकको सुरक्षार्थ एकीकृत बस्ती निर्माण पुनः प्रारम्भ हुनेछ ।’

विनासकारी भूकम्पपछि सुरक्षित आवास निर्माणको वैकल्पिक रुपमा स्थापित एकीकृत बस्ती व्यावसायिक जीवनका लागि बढी उपयोगी पाइएको धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको बस्तीका अध्यक्ष रामबहादुर तामाङ बताउनुहुन्छ । ‘निर्वाहमुखी पेसाका मानिसहरूलाई बस्तीले मात्र नपुग्ने रहेछ । करेसाबारी, गाई, बाख्रा पाल्ने ठाँउ सबैको आवश्यकता हुनेलाई बस्तीमा बस्न असहज भएको गुनासो पनि छ ।’ तामाङले जानकारी दिनुभयो ।

‘पूर्वाधार विकासको हिसाबले असाध्यै सहज र उत्कृष्ट छ, निर्वाहमुखी कृषि बाहेककाहरूलाई सहजता देखिन्छ, । तर एकीकृत बस्तीमा पनि परिवारको सङ्ख्या अनुसार घरको आकार निर्धारण गर्न सम्बन्धित घरधनीलाई अधिकार दिइँदा व्यावहारिक हुन्थ्यो ।’ मेलम्ची –१२ थाक्लेका कृष्ण ढकाल भन्नुहुन्छ ।

प्राकृतिक विपत्तिपछि निर्माण सुरु भएको एकीकृत बस्ती यो वर्षको बाढी पहिरोको प्रकोपपछि पनि निर्माण सुरु हुन सक्ने सङ्केत देखिएको छ । जुगल गाउँपालिका–२ लिदी पहिरो पीडितलाई सेलाङको बाँसखर्कमा अस्थाई स्थानान्तरण गर्दै तीनै तहका सरकारका संयन्त्रले पीडित तथा विस्थापितलाई एकीकृत आवास निर्माणको सङ्केत गरेका हुन् । राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले जोखिमयुक्त स्थानका नागरिकलाई सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण सुरु गरिने र सिन्धुपाल्चोकवाट सिकाई सुरुवात गरिने जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालेले बाढी पहिरोबाट विस्थापितहरूलाई तत्काल सुरक्षित स्थानमा एकीकृत अस्थाई संरचना निर्माण गरिने र दीर्घकालका लागि एकीकृत बसाइ व्यवस्थापन गर्नेमा जोड दिनुभयो । पहिरोबाट क्षति ब्यहोरेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले पीडितलाई सुरक्षित व्यवस्थापनमा एकीकृत गरिने बताउनुहुन्छ ।

‘नागरिकको सुरक्षित बसोबास अधिकार पनि हो । विकास सम्भावना एकीकृत बस्तीमा प्रबल हुन्छ ।’ बाग्मती प्रदेससभा सदस्य, अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल बताउनुहुन्छ । ‘एकीकृत बस्तीमा पूर्वाधार विकाससँगै नागरिकको जीवनस्तर उकास्न अनेकन योजना सार्थक बनाउन सकिन्छ’, नेपाल भननुहुन्छ, ‘धैरै ठाँउमा थोरै विकासका बजेटले छिटो विकास सम्भव भएन ।’ नेपालका अनुसार सुरक्षासँगै पूर्वाधार विकास र सामाजिक विकास एकीकृत बस्तीमा छिटो सम्भव छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?