logo
२०८१ मंसिर १५ शनिवार



म्याग्दीमा जटिल रोगको जोखिम बढ्दै

फिचर |
खुला |


म्याग्दीमा जटिल रोगको जोखिम बढ्दै


अमृतप्रसाद पौडेल
बेनी, भदौ २८ गते । पछिल्लो चार दिनमा छ जनामा डेंगु संक्रमण पोजिटिभ देखिएसँगै म्याग्दीको बेनी अस्पतालमा उपचारका लागि आएका ६१ जना बिरामीमा डेंगु भाइरसको संक्रमण भेटिएको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण हालसम्म ६१ जनामा पुगेको हो । पछिल्लो चार दिनमा रघुगंगा गाउँपालिका, बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका र मंगला गाउँपालिकाका बिरामीमा डेंगु पुष्टि भएको हो । जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेंगुको समस्या देखिएपछि बिरामीको नमूना सङ्कलन गरेर थप परीक्षणका लागि काठमाडौं पठाइएको थियो ।

उक्त संक्रमणलाई रोक्नको लागि लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान चलाउन आग्रह गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयको बायोटेक्नोलोजी विभागमा बेनी अस्पतालले पठाइएको नमूना परीक्षण गर्दा समेत डेंगु नै पुष्टि भएको हुँदा जिल्ला डेंगुको उच्च जोखिममा रहेको थप पुष्टि भएको निमित्त प्रमुख लम्सालले जानकारी दिनुभएको छ ।

डेंगुबाट बच्ने एउटै उपाय भनेको लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेबाहेक जोखिमबाट जोगिने अन्य उपाय नरहेको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो । यसैगरी, मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफसका बिरामीहरुको संख्या पनि म्याग्दीमा उच्च गतिमा बढेको छ ।

ओरेन्सिया सुसुगमुस भन्ने जीवाणुबाट सर्ने स्क्रब टाइफसका बिरामीहरु गएको वैशाखभन्दा पछाडि मात्रै ४१ जना बेनी अस्पतालमा आएका छन् । पछिल्लो दुई दिनमा ७ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको छ । बेनी नगरपालिकाका ५ जना, मंगला गाउँपालिकाका १ जना र बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाका १ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो ।

विगतमा परीक्षण नहुने भए पनि म्याग्दीमा संकास्पद बिरामीहरु देखिएकाले अहिले स्क्रब टाइफसको किट मगाएर परीक्षण गर्दा टाइफसका बिरामीहरु भेटिएको बेनी अस्पतालका क्लिनीकल कोअर्डिनेटर डाक्टर नवराज वस्ताकोटीले बताउनुभयो । वस्ताकोटी भन्नुहुन्छ– ‘लक्षण देखिन्छ, परीक्षण गर्दा पोजिटिभ देखिएपछि स्क्रबको औषधी चलाउँदा निको हुने पनि गरेको छ ।’ यसका बिरामीहरुको समयमै पहिचान हुन सकेको खण्डमा उपचार सम्भव हुने भए पनि पहिचान हुन ढिला भएको खण्डमा ‘मोर्टालिटी’(मृत्युदर) उच्च रहने उहाँको भनाइ छ ।

बेनी अस्पतालका सूचना अधिकरी सुवेदीका अनुसार १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखला लाग्ने, शरिरका मुख्य अङ्गले काम नगर्ने र आन्तरिक रक्तश्राव यसका मुख्य लक्षणहरु देखिने हुँदा घर वरपरको झाडीलगायत सरसफाइमा ध्यान दिनु नै यसबाट बच्ने उपाय हो ।
जिल्लाभित्र खासगरी पोखरा गएर फर्कनेहरुबाट डेंगुको संक्रमण भएको हुन सक्ने मुख्य सम्भावना रहँदै गर्दा डेंगु सार्ने लामखुट्टेको बासस्थान रहेकोले त्यसलाई नियन्त्रण गर्न सबैले प्रयास गर्नुपर्ने बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर मनोज घिमिरेले बताउनुभयो ।

‘आन्तरिक रक्तश्रावसम्मको जटिल प्रकृतिको समस्यासहित डेंगु र स्क्रब टाइफसका बिरामी समेत बेनीमा आएका छन्, केही यहीँ उपचारपछि ठीक भए पनि केहीलाई थप उपचारका लागि माथिल्लो अस्पतालमा रिफर गरिएको छ’, डा. घिमिरेले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?