logo
२०८१ असोज ११ शुक्रवार



अभियानको प्रभाव, बालविवाहमा आयो कमी

फिचर |
खुला |
समाज |


अभियानको प्रभाव, बालविवाहमा आयो कमी
बालबिबाह रोक्न अभियानकर्मीहरुले गरेको भित्तेलेखन । तस्बिरः जिवछ यादव, लहान



जिवछ यादव
लहान, पुष १ गते । बालविवाहले सामाजिक, आर्थिक, मानसिक र शारीरिक रुपमा पर्ने नकारात्मक असरबारे अभियानकर्मीहरुले थालेको अभियानको प्रभावले बालविवाहमा कमी आएको छ । शिक्षा र चेतनाको कमी रहेको गरीव दलित समुदायमा हुने बालविवाह नगर्न विविध कार्यक्रमहरुको राम्रो प्रभाव परेकाले अभियानकर्मीहरु खुशी देखिएका छन् । लहान–१० मा रहेको दलित जनकल्याण युवा क्लवले बालविवाह रोक्न दलित बस्तीहरुमा विभिन्न चेतनामूलक अन्तरक्रिया नाटक र भित्तेलेखन गरेर सिरहा जिल्लाको शहरी र ग्रामीण भेगमा समेत यसको प्रभाव देखिएको क्लबका निर्देशक विनोद बिसुन्केले बताउनुभयो ।

उहाँको अनुसार दस वर्ष अघिको तुलनामा अहिले ७० प्रतिशतभन्दा बढी बालविवाह दलित बस्तीमा रोकिएको छ । आठ कक्षामा पढ्ने बालबालिकाको विवाह हुन्थ्यो । अभियान सुरु गर्दा स्थानीय राजनीतिक दल, जनप्रतिनिधि र प्रहरी प्रशासनले समेत बालविवाह रोक्न देखाएको सक्रियताले नियण्त्रणमा आएको हो । लहान–१ की मीना मरिक (डुम) बताउँछिन, – ‘‘डुम समुदायमा चार÷पाँच वर्षकै उमेरमा विवाह हुने चलन नै भएको थियो । तर अहिले बीस वर्ष उमेर भएपछि मात्रै विवाहको गर्ने चलन रहेको छ । अरुको कुरा छोडनु मेरो छोरी १२ कक्षामा पढ्दैछिन् । बीस वर्ष कटेपछि मात्रै विवाह गर्ने सोचमा छौँ । यी सबै दलित अभियानकर्मीहरुको मेहेनत हो । हामीलाई घरमै आएर सम्झाएपछि हाम्रो चेत खुलेको छ । डुम समुदायमा पनि बालविवाह हुँदैन ।’’

लहान–१० बैरिया गुँदीगाँउका प्रधानाध्यापक रङ्गलाल साहका अनुसार यस विद्यालयमा ९९ प्रतिशत दलित बालबालिकाहरु पढ्छन् । केही वर्ष पहिले कक्षा आठ पढेर जाने विधार्थीहरुको बिहे हुन्थ्यो । दलित अभियानकर्मीहरुले विद्यालयमा र अभिभावकहरुकै घरमै पुगेर बालविवाह रोक्न गरेको प्रयासले अहिले बालविवाह भएको सुनिदँैन । अभियानले सकारात्मक प्रभाव पारेकै हो । यस्तै प्रभावकारी अभियान दाइजोप्रथा हटाउन आउनुपर्ने आवश्यकता छ ।

बालविवाह नियन्त्रणमा छ तर दाइजो झन् बढिरहेको छ । बालविवाह रोक्न सबै पक्ष लागेपछि अभियान प्रभावकारी देखियो तर दाइजो प्रथा हटाउनको लागि राजनीतिक दल, मान्यजनहरु र प्रहरी प्रशासनले समेत खुल्ला तथा सार्वजानिक मञ्चहरुमा प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा देखाउन नसकेकाले दाइजोप्रथा नियन्त्रण हुन समस्या भएको महिला अधिकारकर्मी गीता साहको भनाइ छ ।

लहान नगरपालिकाका उपप्रमुख सरियार चौधरी भन्नुहुन्छ, ‘‘बालबिबाहमा निकै कमी आएको यथार्थ नै हो । बालविवाह रोक्न सबै पक्षले सकारात्मक पहल थालियो । बालविवाह जस्तै दाइजोप्रथा रोक्न अभियान प्रभावकारी बनाउन लहान नगरपालिकाले सरोकारबालाहरुसँग सहकार्य गरेर अगामी कार्यक्रमहरु बनाउन गृहकार्यमा लागेका छाँै ।’’ इलाका प्रहरी कार्यालय लहानका प्रमुख नायवउपरीक्षक शरद थापा क्षेत्रीले बालविवाह भइरेहेको बारे प्रहरीमा समयमै उजुरी र सूचना आउने गरेकाले बालविवाह रोकिएको बताउँदै कुनै पनि अपराध कूरीति रोक्न प्रहरीलाई समयमा प्रमाणसहित सूचना दिएमा अभियानकर्मीहरुलाई सघाउने विश्वास दिलाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?