logo
२०८१ असोज ९ बुधवार



नीतिगत तयारीमा निर्वाचन आयोग

फिचर |
खुला |


नीतिगत तयारीमा निर्वाचन आयोग



गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २४ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक निकायको सूचना प्रवाह गर्दा आधिकारिकता र विश्वसनीयता हुनुुपर्ने बताउनुभएको छ । निर्वाचनको वातावरण तयार पार्न र निर्वाचनका गतिविधिमा ऊर्जा थप्ने काम सञ्चारमाध्यमले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आगामी २०७८ वैशाख १७ र २७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन तयारीबारे गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीसहितको टोलीसँगको भेट तथा छलफलमा प्रमुुख आयुुक्त थपलियाले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
प्रमुख आयुक्त थपलियाका अनुसार आयोगले निर्वाचन प्रयोजनका लागि नीतिगत रूपमा तयारी गरेको छ, निर्वाचनको पूर्वाधार तयार गर्ने क्रममा आयोगले मतदाता नामावली अद्यावधिक गर्ने र मतदान स्थल तथा मतदान केन्द्रको पुनरवलोकन गर्न पनि प्रक्रिया सुरु गरेको छ । यी दुुईवटा प्रक्रिया पूरा भएपछि कहाँ कति मतदाता छन् र कुन कुन ठाउँमा मतदान स्थल र केन्द्र रहने टुुङ्गो लाग्ने छ ।
निर्वाचनका लागि आवश्यक पर्ने बजेट र जनशक्तिको व्यवस्थापन, स्थानीय तह तथा प्रदेश सरकारबाट प्राप्त गर्नुुपर्ने स्रोत–साधनलाई परिचालन गर्न आयोगले नेपाल सरकारसँग कुराकानी गर्ने तयारीमा रहेको जानकारी पनि प्रमुुख आयुुक्तले दिनुुभयो ।
प्रमुख आयुुक्त थपलियाले भन्नुुभयो, ‘‘पेसागत स्वायत्तता सबैतिर छ तर गोरखापत्र संस्थानका प्रकाशनहरूको आधिकारिकता र विश्वसनीयता बढी छ । समाचार त धेरै माध्यमबाट आउँछन् तर द्विविधा भएमा अझै गोरखापत्र हेर्ने गरिन्छ । ’’
नेपाल सरकारको स्वामित्वमा सञ्चालित समाचारमाध्यमबाट मात्र होइन निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमले पनि निर्वाचनको वातावरण बनाउन ठूलो सहयोग पुग्ने अपेक्षा उहाँले गर्नुभयो ।
प्रमुख निर्वाचन आयुुक्त थपलियाले भन्नुभयो, ‘‘निर्वाचन एक किसिमको खेल हो । राजनीतिक दलहरू यसका खेलाडी हुन् । अन्य सरोकारवालाहरू पनि यसमा सहभागी हुन्छन् तर निर्वाचन आयोग मात्रै रेफ्री हो । रेफ्रीलाई राम्रा खेलाडीहरूबीच हुने खेल नै मन पर्छ । खेललाई तीव्र प्रतिस्पर्धी बनाउन ऊर्जा थप्ने काम सञ्चारमाध्यमले गर्छ । ’’
निर्वाचनमा राजनीतिक दल, उम्मेदवार, नागरिक समाजले निर्वाचनको तयारी बढाउन थालेपछि मतदातालाई पनि कहिले मतदान गर्ने भन्ने भोक जगाउने कार्य चाहिँ सञ्चारमाध्यमले नै गर्छन् भन्दै उहाँले थप्नुभयो, ‘‘आयोगको उद्देश्य भनेको नै बढीभन्दा बढी मतदाताले मतदान गरुन् र सबैभन्दा गतिलो, सक्षम र योग्य उम्मेदवारलाई विजयी भएर आइदिनुु प¥यो भन्ने नै हो ।
सञ्चारमाध्यमले निर्वाचनमा शान्ति सुरक्षाको विश्लेषण गर्नेदेखि निर्वाचन आचारसंहिता पालना भयो भएन भनेर निगरानी पनि राख्ने गर्छन्, यसले आयोगलाई सहयोग पनि पुग्ने गर्छ । आयोगसँगको विगतमा निर्वाचन गराएको राम्रो अनुुभव छ, सञ्चार जगत्बाट पनि धेरै ठूलो सहयोग प्राप्त हुुँदै आएको छ र यस निर्वाचनमा पनि पूरा सहयोग पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
गोरखापत्र संस्थानको व्यवस्थापन र प्रकाशन प्रमुुखहरूले निर्वाचनको समयमा समाचार, सूूचना र छपाइमा के कसरी सहयोग गर्न सकिन्छ भनेर आयोगसँग परामर्श गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?