logo
२०७९ माघ २० शुक्रवार



कर्णालीमा सुखको खोजी

फिचर |
खुला |
प्रदेश |


कर्णालीमा सुखको खोजी


डा. दीपेन्द्र रोकाया

कर्णालीको पृष्ठभूमि
हामीले हरेक क्षेत्रबाट कर्नालीको सुख र समृद्धिको सपना देख्नुपरेको छ । यसका लागि सबैभन्दा पहिले हिजो सम्पन्न भनिएको कर्णालीको वास्तविकता बुझ्नुपर्ने हुन्छ । खस राज्य स्थापना गर्ने राजा नागराज दूूरदृष्टि राख्ने राजा थिए । उनले राजाको जेठो सन्तानलाई राजा, सुरवीर तथा बुद्धिमानलाई छानेर काजी र पैकेलालाई शासन गर्ने चलन बसालेका थिए । जनस्तरमा हरेक परिवारमा जेठो सन्तानले घर गर्ने र माहिलो वा कान्छोमध्ये एकजना राज्यको सेना बन्ने र अर्कोलाई व्यापारी बनाउने चलन बसालिएको थियो । यसरी मानव जनशक्तिको परिचालनबाट हरेकको घर र सिङ्गो देश बलियो हुन पुगेको थियो । यसैले इतिहासकारहरूको हातबाट ‘सिंजा साम्राज्य’ समेत भनेर लेखिन सम्भव भएको हो । दोस्रो, आज किन र कसरी कर्णाली बहु–आयामिक गरिबीको भुमरीमा परियो भनेर हेर्नुुपर्ने हुन्छ । सबभन्दा पहिले सिंजाको राज्यसत्ता भाइभाग लगाएर विभाजन भयो । त्यहाँबाट कमजोर हुन थालेको थियो । त्यसलाई नेपाल विस्तार कालपछि त पूूरै कमजोर बनाइयो । चारैतिरका व्यापारी नाकाहरू बन्द हुँदै गए । वस्तु विनिमयका सामानहरू सीमित हुँदै गए । पशु व्यवसाय चरन क्षेत्रका कारण मासिँदै गयो । परम्परागत खेती प्रणालीमा सबैजना केन्द्रित हुनुपर्दा उत्पादन घट्दै गयो । सूचना र सञ्चारको अभावले प्राकृतिक प्रकोपलाई दैव लागेको ठान्दै जाने परम्परा बन्दै गयो ।

काठमाडौँले कर्णालीलाई आफ्नो सीमाभित्र पारेपछि जिम्मेवार बन्न सकेन । यसैले राज्यसत्तामा पहुँच स्थापित भएन । व्यापार व्यवसाय हुन पाएन । परम्परागत उत्पादन कम हुँदै गयो । परिणामस्वरूप कर्णालीमा प्राकृतिक स्रोत भए पनि बहुआयामिक गरिबीको चक्रमा घुमिरहन प¥यो । नेपाल जीवस्तर सर्वेक्षण २०७२/७३ अनुसार वार्षिक ३४ हजार ७४ रुपियाँ आम्दानी गर्न नसक्ने व्यक्तिलाई गरिब परिवार मानिएको छ । यसैमा पनि ६० प्रतिशत खाद्यवस्तुमा खर्च हुन्छ भने त्यो अति गरिब वर्ग मानिन्छ ।
सम्पन्नता र विपन्नताको दुबै अध्याय कर्णालीले भोगिसकेको छ । यसैले अब के गर्न सकिन्छ भनी दूूरदृष्टि राखी योजना तर्जुमा गर्नुपर्ने हुन्छ । सङ्घीयता अवसर बनेर आएको छ तर यसको कार्यकारी अधिकार प्रयोगकर्ताहरू सही भएनन् भने हाम्रै कारण कर्णाली पछि परेको निष्कर्ष निकाल्ने दिन पनि आउनेछन् । यसतर्फ ध्यान दिई ‘समृद्ध कर्नाली, सुखारी कर्णालीवासी’ बनाउने ‘कर्णाली सोच २१००’ लाई अघि बढाउन आवश्यक छ ।

युगको माग
मान्छे शिकारी युगमा थियो । त्यतिबेला जिउनका लागि ढुङ्गा, भाला र त्रिशूल आविष्कार भएको थियो । आगोको आविष्कारले नयाँ ठाँउमा पु¥यो । कृषियुगले कुटो, कोदालो, हलो र बन्चरो बनाउने अवस्थामा पु¥यायो । उत्पादन बढ्नु, इन्जिनहरू बनाउनु, बिजुली बल्नु र यातायातको विकास हुनुले औद्योगिक युग चम्कियो । जब उत्पादित मालले बजारको खोजी गर्न थालेपछि हवाईजहाज, कम्प्युटर, इन्टरनेटको प्रयोगले सञ्चारको युग निर्माण ग¥यो । विश्वको यही विशेषतामा टेकेर सूचना तथा प्रविधि, धेरै तथ्याङ्क, कृत्रिम बुद्धि, नेटवर्कको पाँचौँ पुस्तामा प्रवेश गरेको छ । रोबोर्टहरू निर्माण भइरहेका छन् । यसले मान्छेकै अस्तित्व समाप्त हुने अवस्था सिर्जना गर्दैछ । तर यी सबै मान्छेकै विवेकको उपज भएकाले मानिसको विकल्प मानिस नै हुनेछ । यद्यपि हाम्रै अल्पज्ञानका कारण ढुङ्गेयुगदेखि औद्योगिक युगसम्मका औजार तथा आविष्कारलाई पूूजा गरेर अदृश्य देउता खोजिरहेका छौँ । यो परिवेशमा आधारभूत आवश्यकता पूूरा गर्नेदेखि समृद्धि र सुखको खोजीमा लागिरहेका छौँ ।

लगानीमैत्री वातावरण
तालिका नं. १, २ र ३ का लक्ष्य, रणनीति र सूचकले ठूलो लगानीको माग गर्दछ । प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले सार्वजनिक, निजी र सहकारी क्षेत्रबाट पाँच खर्ब २१ अर्ब ४७ करोड लगानी हुने प्रक्षेपण गरेको छ । यसैले कर्णाली प्रदेश सरकारले लगानीमैत्री वातावरण तयार गर्नुपर्छ । एउटा भनाइ नै छ, लगानीकर्ताहरू चिलजस्तै आकाशमा उड्छन् र चिलले आफ्नो आहारा खोजेजस्तै लगानी अनुकूल वातावरण कहाँ छ भनेर हेर्छन् । आहारा देखेर चिल आकाशबाट जमिनमा झरेजस्तै लगानीकर्ता पनि लगानीमैत्री वातावरण भएको ठाउँमा जान्छन् । लगानीकर्ताका लागि मुख्य कुरा हो, नाफा । जहाँ नाफा हुन्छ, उनीहरू त्यहाँ लगानी गर्छन् ।

लगानीका लागि आवश्यक कानुन हुनुपर्छ । प्रदेश सरकारले सार्वजनिक र निजी साझेदारी ऐन, २०७७ बनाइसकेको छ । यसबाट हरेक व्यवसायीलाई लगानीको सुरक्षा हुनेछ । यसैगरी, आयोजनास्थलसम्म पुग्ने सडक, आवश्यक विद्युत् र सञ्चार नेटवर्क पुग्ने पूर्वाधार बनाउँदा लगानीमैत्री वातावरण बन्छ । आयोजनाका लागि आवश्यक जग्गा उपलब्ध गराउन सहजीकरण गर्न सकिन्छ । मेसिन औजार र उत्पादनमा प्रोत्साहन अनुदान दिन सकिन्छ । बैंकमा ऋण लिन सहजीकरण र व्याज अनुदान दिन सकिन्छ । यो विगत तीन वर्षदेखि नीति तथा कार्यक्रममा भन्दै र व्यवस्था गर्दै आएको कुरा हो । प्रदेश योजना आयोगले तयार गर्दै गरेका आयोजनाहरूलाई आयोजना बैंकमा सूचीकृत गर्नुपर्छ । यिनै आयोजनालाई प्राथमिकता र प्रतिफलका आधारमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा लगानी मापदण्ड तयार गर्नुपर्छ । सम्भव भएसम्म प्रतिफलयुक्त आयोजनाहरू प्रस्तुत गरेर छिट्टै लगानी सम्मेलन गर्नुपर्दछ । यसले विस्तारै लगानीमैत्री वातावरण बन्ने र सोको संस्थागत गर्ने आधार बन्नेछ ।

मानव केन्द्रित विकास
कर्णाली प्रदेशले पूर्वाधारमा आधारित समाजवाद उन्मुख मानव केन्द्रित अवधारणा कार्यान्वयनमा ल्याउनुपर्दछ । यसले उत्पादन बढाउन सघाउने छ । उत्पादनले बजार खोज्दै गर्दा लेबलिङ गरी ‘कर्णाली अर्गानिक मूल्यवान ब्राण्ड’ बनाउनुपर्छ । मानव जनशक्तिको प्रक्षेपण गरी उत्पादन र रोजगारी दिने आधार तयार गर्नुपर्छ । शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्छ । यसरी आधारभूत आम्दानी, साक्षरता र आयु बढाउन क्षेत्रगत लगानी बढाउनुपर्ने हुन्छ ।

विगतमा नागराजले ‘देउ’ र ‘उठा’ बाट शुरु गरेको देउडा अर्थ–राजनीति र बलिराजले जबरजस्ती माग्न लगाउँदा जनताले ‘भैगो त लेउ’ भन्ने भावले भैलो पर्व स्थापित गरायो । अब हामीले ती माग्ने परम्पराको सिको गर्नु छैन । कर्णालीका प्राकृतिक स्रोतहरूको पहिचान र परिचालन गर्न सके राजस्व उठ्ने आधार प्रशस्तै छन् । नीति र सेवा दिएर राज्य बलियो बनाउनुपर्छ । यसपछि मात्र ‘बालबालिकालाई लगानी, युवालाई रोजगारी र ज्येष्ठ नागरिकलाई सम्मान र सुरक्षा’ दिन सकिन्छ । कर्णालीले सङ्घीयताका कारण यसअघि कहिल्यै प्राप्त नभएको बजेट पाएको छ । यसको सदुपयोग र हरेक क्षेत्रमा सुशासन कायम गर्न सके कर्णालीमा पुनर्जागरण आउनेछ । कर्णालीबाटै बसाइ सरेर गएका १०८ थरका शैव सम्प्रदायलाई पुनः आफ्नो पूर्वज भूमि छोएर एकमुठी माटो र कर्णालीको पानी लिएर जाने बनाउनुुपर्छ । यसका लागि हरेक कर्णालीवासीले अनिवार्य आय आर्जनका रूपमा समृद्धिको कार्ययोजना बनाउनुुपर्ने हुन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?