logo
२०८१ बैशाख १६ आईतवार



वार्षिक बीस अर्ब रूपियाँभन्दा बढीको कृषि उपकरण आयात

अर्थ |


वार्षिक बीस अर्ब रूपियाँभन्दा बढीको कृषि उपकरण आयात


काठमाडौँ, चैत ८ गते । आधुनिक कृषि औजार तथा उपकरण प्रयोगमा कृषकको आकर्षण बढेको छ तर स्वदेशमै उत्पादन नहुने र विदेशबाट आयात गर्नुपर्दा महँगो पर्ने भएकाले धेरैजसो कृषकको पहुँचमा छैन।
सरकारी तथ्याङ्कअनुसार हाल ८० देखि ९० प्रतिशत कृषि औजार तथा उपकरण विदेशबाट आयात हुन्छन् । नेपालमा बर्सेनि करिब २० अर्ब रुपियाँको कृषि औजार तथा विभिन्न उपकरण आयात हुने गरेको छ।
कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्न सरकारले प्रोत्साहन गरिरहेको छ । सरकारले किसानलाई ५० प्रतिशतदेखि शतप्रतिशत अनुदानमा यी औजार वितरण पनि गर्ने गरेको छ तर यसरी वितरण गरिने कृषि औजार र उपकरण थोरै किसानले मात्रै पाएका छन् ।

कृषि औजार तथा उपकारण बिक्री वितरण गर्दै आउनुभएका नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घका अध्यक्ष खोजराज कटुवालले भन्नुभयो, “सरकारले किसानलाई कृषि प्रविधि तथा औजार प्रयोग गर्न सिकाए तर ती औजार स्वदेशमै उत्पादन हुँदैन । त्यसैले गर्दा किसानको लागतमा वृद्धि भइरहेको छ ।”

आयातित औजार उपकरणको मूल्य धेरै हुने भएकाले व्यक्तिगत लगानीमा किसानले किन्न सक्ने अवस्था कम छ । विदेशबाट निर्यात गर्नु परेकै कारण कृषि सामग्री र उपकरणमा ४० देखि ६० प्रतिशतसम्म बढी मूल्य लाग्ने गरेको सरकारी तथ्याङ्क छ ।

स्वदेशमा उत्पादन नहुने भएकाले कृषियन्त्र तथा उपकरण नेपाली बजारमा महँगो पर्ने गरेको छ । मूल्य धेरै भएकाले सबै किसानले खरिद गर्न नसक्ने र प्रयोग गर्दा पनि उत्पादन लागत बढी हुने उहाँले बताउनुभयो ।
“किसानले चासो देखाउँछन्, हामीसँग सल्लाह लिन्छन् तर महँगो भएका कारण खरिद गर्न सक्दैनन् । नेपालमै उत्पादन भयो भने पक्कै पनि सस्तो हुन्छ,” कटुवालले भन्नुभयो ।

भक्तपुरमा एसकेटी नेपाल प्रालि सञ्चालन गरी कृषि औजार तथा उपकारण बिक्री वितरण गर्दै आउनुभएका नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घका महासचिव कृष्ण शर्माले यो आयात कम गर्न नेपालले ठूलो मेहनत गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय माल्चिङ प्लास्टिक, धान, मकै, गहुँका थ्रेसर, थोपा सिँचाइका लागि चाहिने पाइप उत्पादन हुन थालेका छन् तर सरकारले उद्योग सञ्चालनमा ध्यान नदिएका कारण त्यो उहाँले नफस्टाएको बताउनुभयो ।

कृषि पूर्वाधार तथा कृषि यान्त्रिकीकरण प्रवद्र्धन केन्द्रका प्रमुख महेन्द्र पौडेलले सरकारले आफ्नै कृषि औजार कारखाना सञ्चालनका लागि ध्यान दिनुपर्ने बताउनुभयो । बाहिरबाट कृषि औजार तथा उपकारण ल्याएर अनुदानमा किसानलाई वितरण गर्नुभन्दा नेपालमै आफ्नै कारखाना खोलेर बिक्री वितरण गरे सस्तो पर्ने उहाँको बुझाइ छ । “निजी क्षेत्रबाट पनि उद्योग सञ्चालन गर्न धेरै उद्यमी तयार छन् तर सरकारले त्यसलाई प्रोत्साहन गर्नुपर्छ ।

कच्चा पदार्थ ल्याउन कर छुटदेखि उद्योग सञ्चालन गर्न र बिक्री वितरण गर्न अरू सुविधा दियो भने नेपालमै पनि कृषि औजार उत्पादन हुन सक्छ,” उहाँले भन्नुभयो । वीरगञ्जमा वर्षौंदेखि कृषि औजार कारखाना बन्द छ । प्रत्येक बजेट तथा कार्यक्रममा कृषि औजार कारखाना सञ्चालन गर्ने भनिए पनि हालसम्म त्यो सञ्चालन हुन सकेको छैन ।
किसानले प्रयोग गरिरहेका अधिकांश कृषि औजार तथा उपकरण भारत र चीनबाट आयात हुने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?