logo
२०८१ जेष्ठ ४ शुक्रवार



पुरुषको मात्र रहेन जिमखाना

स्वास्थ्य |
खुला |


पुरुषको मात्र रहेन जिमखाना



यलु जोशी

ललितपुर, भदौ २१ गते । छेउमा बज्दै थियो मधुर सङ्गीत, त्यसैको तालमा कोही महिला नाच्न मस्त थिए त कोही ‘सेटअप’ र ‘पुसअप’ गर्न व्यस्त । सङ्गीतको तालमा कम्मर मर्काउँदा उनीहरू असिनपसिन भएका थिए ।
पुल्चोकस्थित जिमखानामा हरेक बिहान यस्तै दृश्य देखिन्छ । यहाँ व्यायाम गर्न सहरका युवती तथा महिला आउने गरेका छन् । यस्ता जिमखाना अहिले उपत्यकामा विस्तार हुन थालेका छन् । कुनै बेला पुरुषको मात्र पहुँच रहेको जिमखानामा अहिले महिलाको उपस्थिति बाक्लै हुन थालेको छ ।
मोडेल, नायिकादेखि विवाहित तथा बच्चाको आमा यस्ता जिमखाना अर्थात् फिटनेस क्लबमा बढी देखिने गरेका छन् । मिसेस नेवाः २०७४ विजेता रेजिना शाक्य हरेक बिहान फिटनेस क्लब पुग्नुहुन्छ । उहाँ मिसेस नेवाः बन्नुअघि फिटनेस क्लब जाने गर्नुहुन्थ्यो ।
व्यायामले मिसेस नेवाः बन्न सहयोग पुगेको बताउँदै उहाँ भन्नुहुन्छ, “केही अघिसम्म धेरैको सोच हुन्थ्यो, जिम भन्नेबित्तिकै पुरुष मात्र जाने हो तर अचेल स्वस्थ शरीरका निम्ति व्यायाम आवश्यक छ भन्ने बुझ्न थालेका छन् ।” उहाँ थप्नुहुन्छ, “सुरुसुरुमा फिटनेस सेन्टर जाँदा पुरुषको सङ्ख्या धेरै थियो तर अहिले महिलाको सङ्ख्या पनि बढेको छ । स्वस्थ शरीर र तनावरहित जीवन जिउन कसलाई पो मन लाग्दैन र !”
शारीरिक व्यायाम गर्ने प्रवृत्ति र स्वस्थ हुनुपर्छ भन्ने सोचको विकासले यो परिवर्तन आएको हो । एक बच्चाको आमासमेत हुनुभएकी शाक्य आफ्नो शारीरिक बनावट भद्दा भयो भनेर फिटनेस क्लब धाउन थाल्नुभएको हो ।
ललितपुरको हार्दिक फिटनेस क्लबका सञ्चालक विराज श्रेष्ठ पनि पहिलेको तुलनामा अहिले जिमप्रति महिलाको आकर्षण बढेको धारणा व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिले जिम पुरुषमात्रै जाने हो भन्ने बुझाइ थियो, कुनै महिलाले फिटनेस सेन्टर जान्छु भन्दा पनि नराम्रो नजरले हेरिन्थ्यो, हलमा पनि पुरुष नै बढी हुने भएकाले महिलालाई जिस्काउँथे । अहिले त्यस्तो अवस्था छैन । स्वस्थ हुनुपर्छ भन्ने सोचको विकासले यो परिवर्तन आएको हो ।”
अहिले यस्ता फिटनेस क्लबमा महिला प्रशिक्षक पनि बढेका छन् । सहरबजारका महिलाले इन्टरनेट, सञ्चारमाध्यममार्फत जिमको महìव बुझेकाले पनि यसतर्फ उनीहरूको आकर्षण बढेको हुनसक्ने उहाँको तर्क छ ।
गृहिणी बबिना कार्कीका लागि जिम दैनिकी नै बनेको छ । आफ्नो शरीरको क्षमता र आकर्षण बढाउन र तौल घटाउन जिम जाने गरेको उहाँको भनाइ छ । “गाडीमा हिँड्ने बानीले गर्दा अल्छी भएकी छु, दैनिक यहाँ आएर व्यायाम गर्छु,” उहाँले भन्नुभयो ।
“फिटनेस सेन्टरमा आएर व्यायाम गर्न लागेको पाँच वर्षजति भयो । मलाई जुम्बा गर्न मन पर्छ । शरीरको तौल घटाउन मात्रै नभएर हाम्रो शरीरलाई स्वस्थ र स्फूर्त राख्न व्यायाम जरुरी हुन्छ । त्यसकारण म दैनिक जिम जाने गर्छु,” आफूसँगै आफ्नो सासूआमालाई पनि व्यायामका लागि लग्ने गरेको उहाँले जानकारी दिनुभयो ।
अक्सफोर्ड जिम सेन्टरका फिटनेस प्रशिक्षक नुमु श्रेष्ठ भन्नुहुन्छ, “पछिल्लो समय जिमप्रति महिला आकर्षण बढेको छ । पहिले धेरैजसो महिला घरको काममा व्यस्त हुने भएकाले पनि नियमित जिम आउँदैन थिए तर अहिले स्वस्थ शरीरको महìव बुझेर घरको कामको व्यवस्थापन गर्ने गरेका छन् ।”
यता नायिका वर्षा सिवाकोटी विगत एक वर्षदेखि व्यायाम गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “व्यायाम गर्न थालेपछि अनुहारमा चमक यसै पनि आउँदो रहेछ । खानपिन पनि नियन्त्रित हुनु्का साथै आत्मसन्तुष्टि हुने रहेछ ।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?