गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २ गते । सुरुमै पत्ता लगाउन सके स्तन क्यान्सरबाट पूर्ण रूपमा बच्न सकिने भए पनि नेपालमा भने स्तन क्यान्सर रोग लागेका महिला दोस्रो वा तेस्रो चरणमा मात्र अस्पताल पुग्ने गरेको पाइएको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. कपेन्द्रशेखर अमात्यले प्रायः महिलाहरू दोस्रो वा तेस्रो चरणमा मात्र अस्पताल पुग्ने गरेको बताउनुभयो । उहाँले विगतको तुलनामा स्तन क्यान्सरमा केही जनचेतना फैलिए पनि ग्रामीण क्षेत्रका महिलामा क्यान्सरबारे जानकारी नभएको जानकारी दिनुभयो । स्तनमा एउटा गिर्खो आएको त हो नि भनेर अस्पताल नगई बस्दा क्यान्सर तेस्रो, चौथो चरणमा पुग्ने भएकाले समयमै सचेत हुनुपर्ने उहाँको भनाइ छ ।
ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल र क्यान्सर सपोर्ट समूहले नेपालमा स्तन क्यान्सर लागेका, उपचार गराइरहेका र उपचारपछि निको भएका महिलाहरूप्रति ऐक्यबद्धता जनाउन आयोजना गरेको सचेतनामूलक कार्यक्रममा डा. अमात्यले स्तन क्यान्सर भए नभएको महिलाले आफ्नो स्तन आफैँ छामेर पत्ता लगाउन सक्ने बताउनुभयो ।
डा. अमात्यले नेपालमा स्तन क्यान्सरका बिरामीहरू वार्षिक पाँच हजार थपिने जानकारी दिनुभयो । समयमै उपचार गर्न सके स्तन क्यान्सरबाट बच्न सकिने भन्दै उहाँले जनचेतना फैलाउनुपर्ने बताउनुभयो ।
नेपालमा स्तन क्यान्सरबारे जनचेतना फैलाउन विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाउने गरिन्छ । डा. अमात्यले स्तन क्यान्सरको जोखिमबारे सचेतना बढाउनुका साथै स्तन क्यान्सरको पहिचान र रोकथाम गर्नुपर्ने बताउनुभयो ।
वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कस्तुरी मल्लले स्तन क्यान्सर आफैँले पत्ता लगाउन सकिने भन्दै स्तनमा गिर्खा देखिएमा तत्काल अस्पताल जानुपर्ने बताउनुभयो । उहाँले स्तन क्यान्सर सुरुको अवस्थामा पहिचान गरी उपचार भएमा पूर्ण रूपमा निको हुने बताउनुभयो ।