सरोज ढुङ्गेल
काठमाडौँ, कात्तिक १० गते । राजधानीको चावहिलमा बसोबास गर्दै आउनुभएकी पुनम थपलिया बाथरोगबाट ग्रसित हुनुहुन्छ । उहाँ हातखुट्टा सुन्निने, शरीर झमझम गर्ने, अत्यधिक दुखाइ जस्ता समस्याले पिरोलिनुभएको छ ।
उहाँलाई बाथरोग भएको १० वर्ष पुगिसक्यो । बाथरोगबाहेक उहाँलाई मधुमेहको समस्या पनि छ । उहाँलाई महिनामा बाथरोगको नियमित पाँच हजारभन्दा बढीको औषधि खानुपर्दा आर्थिक रूपमा समेत भार त्यत्तिकै छ ।
पुनमले गौशलास्थित बाथरोग सेन्टरमा नियमित रूपमा उपचार गराउँदै आउनुभएको छ । नेपालमा मात्र नभएर भारतको नयाँ दिल्लीमा समेत गएर उहाँले बाथरोगको उपचार गराइसक्नुभयो । अझै उहाँ वार्षिक रूपमा भारतमा गएर बाथरोगको फलोअप गरिरहनुभएको छ भने बाथरोग सेन्टरमा प्रत्येक महिना फलोअपका लागि जानुहुन्छ ।
त्यसैगरी कुपण्डोलकी रीता तिमल्सिनालाई पनि बाथरोगको समस्या छ । उहाँ पनि नियमित औषधि सेवन गर्दै आउनुभएको छ ।
बाथरोग विशेषज्ञ डा. स्वेता नकर्मीले दैनिक रूपमा ३० जनाभन्दा बढी बाथरोगीको उपचार आफूले गर्ने गरेको जानकारी दिनुभयो । बाथरोगका नयाँ बिरामी र फलोअपमा आउने बिरामीसमेत गरी दैनिक ३० देखि ५० जनालाई उपचार गर्ने गरेको जानकारी दिँदै उहाँले नेपालमा बाथरोगीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । उहाँले नेपालमा सयभन्दा बढी प्रकारका बाथ रोग पत्ता लागिसकेको जानकारी दिँदै नेपालमा भने गठिया, मांसपेशीको बाथ, हड्डी खिइने बाथले धेरैजसो सताउने गरेको बताउनुभयो । बाथले शरीरका अङ्गहरूलाई नष्ट गर्ने भन्दै एक पटक बाथरोग लागिसकेपछि नियमित रूपमा फलोअप र औषधि सेवन गरिरहनुपर्ने बत(ाउनुभयो ।
जीवाणु, वातावरणीय कारण, चुरोट, घामको परावैजनिक किरण (यूभी रे) जस्ता कारणले पनि बाथ हुने सम्भावना बढी हुने भन्दै उहाँले पुरुषभन्दा महिलाहरूमा बाथको समस्या बढी रहेको बताउनुभयो । बाथले जोर्नी, शरीरका भित्री भागलाई समेत आक्रमण गर्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।
वरिष्ठ बाथरोग विशेषज्ञ डा. बुद्धि पौड्यालले बाथले बालबालिकादेखि वृद्धसम्मलाई असर गर्ने बताउनुभयो । नेपालमा कुनै न कुनै किसिमको बाथरोगबाट २० प्रतिशत जनसङ्ख्या पीडित रहेको जानकारी दिँदै उहाँले बाथको प्रकार अनुसार भिन्न उमेर समूहको मानिसलाई सताउने गरेको बताउनुभयो । बाथमुटुरोग १५ वर्षसम्मका बालबालिकालाई मात्र देखापर्ने भन्दै उहाँले लुपस बाथले ९० प्रतिशत महिला पीडित हुने गरेको जानकारी दिनुभयो । डा. पौड्यालले बाथको खास कारण नभए पनि वंशाणुगत र वातावरणीय कारण प्रमुख रहेको बताउनुभयो ।
ढाडको बाथ १५ वर्षदेखि ५० वर्षसम्म, आमबाथ ३५ वर्षमाथि, हड्डी खिइने बाथ जुनसुकै उमेर समूहका व्यक्तिलाई हुने गर्दछ, डा. पौड्यालले बाथरोग दीर्घरोग भएकाले पूर्ण रूपमा निको नहुने जानकारी दिँदै उपचारपछि नियन्त्रण मात्र गर्न सकिने बताउनुभयो । उहाँका अनुसार बाथरोग लागिसकेपछि जीवनभर नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ ।
उहाँले उमेर धेरै भइसकेका महिला र पुरुषहरूमा कुर्कुरे हड्डी खिइने बाथ बढी देखा पर्ने बताउनुभयो । डा. पौड्यालले बाथरोगका लक्षणमा साना तथा ठूला जोर्नीहरू सुन्निने, दुख्ने, बिहान जाम भएको जस्तो वा अरट्ठो हुने, बिहान मुट्ठी कस्न गाह्रो हुने र दिउँसो हुँदै जाँदा सजिलो हुँदै जाने, बिहान वा राति सुतिसकेपछि ढाड दुख्ने लक्षण देखापर्ने जानकारी दिनुभयो ।