गोरखापत्र समाचारदाता
काठमाडौं, माघ १७ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको वुहानका नेपालीलाई उद्दार गर्न सरकारसँग माग गर्नुभएको छ । साथै उहाँले कोरोना सङ्क्रमणबाट सतर्कताका लागि देश विदेशमा रहनुभएका सबै नेपालीसँग सार्वजनिक अपिल पनि गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री देउवाले शुक्रबार गर्नुभएको अपीलमा भनिएको छ, ‘‘कोरोनाका कारण जीवन गुमाएका सबै चिनियाँ नागरिकको परिवार र चीन सरकारप्रति काँग्रेसका तर्फबाट समवेदना व्यक्त गर्दै भाइरस नियन्त्रणका लागि चीन सरकारले गरिरहेको प्रभावकारी प्रयासको म हार्दिक प्रशंसा गर्दछु ।’’
उहाँले नेपालले राख्नुपर्ने सतर्कता र सरकारले युद्धस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्यबारे सजग गराउँदै पाँच बुँदे सार्वजनिक अपिल गर्नुभएको छ । त्यसमा उहाँले नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्व साथ महत्वपूर्ण भूमिका निर्वाह गर्न सबै राजनीतिक दल, संघ संस्था र सबै सञ्चार माध्यमलाई विशेष आग्रह गर्नुभएको छ ।
नेपाल प्रवेशका सबै अन्तर्राष्ट्रिय नाकामा विशेष हेल्थ डेस्क प्रभावकारी ढङ्गले सञ्चालन गर्न अपिल गर्दै प्रमुख प्रतिपक्षी दलका नेता देउवाले कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथाशीघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन सरकारलाई अनुरोध गर्नुभएको छ ।
साथै सभापति देउवाले वुहानबाट नेपालीहरूलाई उद्दार गरेर ल्याएपश्चात् स्वास्थ्य परीक्षणको प्रतिवेदन आउने निश्चित अवधिभर अलग्गै राख्ने शिविरको प्रबन्ध गर्न सरकारले तत्काल कार्य सुरु गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भएको छ ।
सङ्क्रमण परीक्षणका लागि राजधानीमा अलग्गै केन्द्र तत्काल स्थापना गर्नुपर्ने अनिवार्य आवश्यकता छ भन्दै सभापति देउवाले यसलाई गम्भीरतापूर्वक लिएर कार्य गर्न सरकारलाई सचेत गराउनु भएको छ ।
सभापति देउवाले कोरोना भाइरसको प्राणघातक सङ्क्रमणप्रति संयमपूर्वक सतर्कताका लागि स्वदेश र विदेशमा रहेका सबै नेपालीमा विशेष अपिलसमेत गर्नुभएको छ ।