logo
२०८० चैत्र १६ शुक्रवार



सम्भव छ क्यान्सर उपचार

स्वास्थ्य |
मुख्य समाचार |


सम्भव छ क्यान्सर उपचार


सरोज ढुङ्गेल

काठमाडौँ, माघ २१ गते । मकनवानपुर पालुङका जगन्नाथ ढकाल पायल्स रोगको उपचार गर्दै १० वर्षसम्म बस्नुभयो । चिकित्सककहाँ नपुग्नुभएको पनि होइन । रोग झनझन बढ्दै गएपछि पायल्सको उपचार गर्न भन्दै आयुर्वेद चिकित्सककहाँ पनि जानुभयो ।
विभिन्न अस्पताल चहार्दा पनि रोग ठीक नभएपछि शिक्षण अस्पताल पुग्दा उहाँलाई क्यान्सर भएको पत्ता लाग्यो । उपचारका लागि नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा गएर उपचार गर्नुभयो । त्योबेला उहाँको क्यान्सर दोस्रो चरणमा थियो । दोस्रो चरणमै उहाँको क्यान्सर पत्ता लागेको हुनाले भारत गएर ४५ लाख रुपियाँ खर्च गर्दा उहाँ निको हुनुभएको छ ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाश न्यौपानेका अनुसार ढकाल जस्तै नेपालमा दिनदिनै क्यान्सर रोगीहरू बढेको जानकारी दिनुभयो । उहाँका अनुसार क्यान्सरको तेस्रो वा चौथो चरणमा उपचार गर्न आउँदा समस्या हुन्छ । उहाँका अनुसार पहिलो र दोस्रो चरणसम्मको क्यान्सर उपचार सहज हुन्छ । जसमा मानिसको ज्यान जाँदैन ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार हरेक वर्ष करिब एक करोड ९० लाख न्यौपानेले क्यान्सर जस्तो रोग लाग्यो भनेर डराउँदा पनि कमजोर हुने भन्दै उहाँले आत्मविश्वासका साथ क्यान्सरलाई जित्छु भनेर बस्दा क्यान्सर पूर्ण रूपमा ठीक हुने बताउनुभयो ।

क्यान्सर के हो ?
हाम्रो शरीर करोडौँ सूक्ष्म कोषहरूले बनेको हुन्छ । जब तीमध्येका केही कोष बिग्रिन्छन्, तिनीहरूले आफ्नो काम गर्न छोड्छन् । काम नलाग्ने कोष बढ्दै गएपछि त्यो अङ्गमा घाउ बन्छ, जसको उपचार गरिएन भने त्यो अङ्गले राम्ररी काम गर्न सक्दैन र क्यान्सरका लक्षण देखिन थाल्छन् ।
क्यान्सर दीर्घ रोग हो । शरीरको कुनै पनि अङ्गमा हुनसक्छ । यो एक प्रकारको घाउ हो जुन फैलिँदै जान्छ र अन्त्यमा बिरामीको मृत्युको कारण बन्छ । अहिले संसारमा वार्षिक एक करोडको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ । नेपालमा हरेक वर्ष ४० हजार जना क्यान्सरका बिरामी थपिने गरेको अनुमान गरिन्छ ।

क्यान्सरका कारण
सामान्य अवस्थामा काम गरिरहेका कोषहरूमा केही परिवर्तन आउँछ र ती बढ्न थाल्छन् । अनि क्यान्सर हुन्छ । क्यान्सरको मुख्य कारण चुरोट, खैनी, मद्यपान हो । अस्वस्थकर खानपान र जीवनशैलीका कारण पनि क्यान्सर बढिरहेको छ । प्रदूषणको कारणले क्यान्सर हुने गर्छ ।

क्यान्सरका लक्षण
कमजोरी हुने र तौल घट्नु, शरीरका कुनै पनि अङ्गमा गिर्खा गाँठाहरू आउनु, छालामा नयाँ कोठी पलाउनु वा भएका कोठी ठूलो हुँदै जानु, मुखमा र जिब्रोमा लामो समयदेखि घाउ हुनु, खाना निल्दा दुख्ने र स्वर फेरिनु, लामो समयदेखि ग्यास्टिक, पेट पोल्ने वा उल्टी हुनु जस्ता अवस्था क्यान्सरका लक्षण हुन् ।

रोकथाम
सुर्तीजन्य पदार्थ र जाँडरक्सीको प्रयोग नगर्ने, पान सुपारीहरू नखाने, अस्वस्थ्यकर खानपिनको बानी व्यवहारमा सुधार गर्ने, जीवनशैलीमा सुधार ल्याउने, प्रदूषणबाट बच्ने, अन्य परिवारलाई क्यान्सर छ भने अन्यलाई पनि परीक्षण गराउने । यसैबीच मङ्गलबार विश्व क्यान्सर दिवस मनाइँदैछ । नेपालमा पनि क्यान्सर सम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी क्यान्सर दिवस मनाउन लागिएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?