logo
२०७९ मंसिर २० मंगलवार



क्यान्सर रोगीलाई निःशुल्क औषधि

स्वास्थ्य |
मुख्य समाचार |


क्यान्सर रोगीलाई निःशुल्क औषधि


सरोज ढुङ्गेल

काठमाडौँ, चैत २७ गते । ललितपुर भैँसेपाटीकी अचला पोखरेलले पाटन अस्पतालद्वारा उपलब्ध गराउँदै आएको क्यान्सरको औषधि नियमित सेवन गरिरहनुभएको छ । जीवनभर सेवन गर्नुपर्ने मासिक छ लाख रुपियाँबराबरको औषधि उहाँले निःशुल्क प्राप्त गरिरहनुभएको छ ।
उहाँलाई डेढ वर्षअघि फोक्सोको क्यान्सर भएको थियो । सुरुमा खोकीको लक्षण देखिएपछि नजिकैको अस्पतालमा उपचार गराउँदा क्यान्सर पत्ता लागेको थियो । दुई महिनासम्म छ साइकल केमोथेरापी चढाएपछि उहाँले नियमित औषधि सेवन गर्दै आउनुभएको छ ।

शल्यक्रिया गर्न नमिल्ने भएपछि छ साइकल केमोथेरापी चढाएर उहाँले औषधि सेवन गर्न थाल्नुभएको हो । “सुरुमा मासिक दुई लाख ८० हजार रुपियाँबराबरको औषधि सेवन गरेकी थिएँ,” उहाँले भन्नुभयो, “औषधि अत्यधिक महँगो भएकाले क्यान्सर रोगका बिरामीको पहुँच बाहिर रहेछ ।” साथीहरूले पाटन अस्पतालमा निःशुल्क औषधि पाइन्छ भन्दा अचलाले सुरुमा पत्याउनुभएन ।

क्यान्सरको औषधि निःशुल्क पाउने भएपछि उहाँले बडो राहतको अनुभव गर्नुभयो । पाटन अस्पतालका क्यान्सर रोग विभाग प्रमुख डा. अरुण शाहीले पाटन अस्पतालमा मासिक १० लाख रुपियाँसम्मको औषधि सेवन गर्ने बिरामी पनि रहेको बताउनुभयो । अत्यन्त महँगो रोगका रूपमा क्यान्सरलाई लिइन्छ । नेपालबाहेक भारत, सिङ्गापुर, थाइल्यान्डलगायतका देशमा गएर उपचार गराउनुपरेमा एक करोड रुपियाँभन्दा बढी खर्च लाग्छ । पाटन अस्पताल र भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरका रोगीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । पेटको क्यान्सर, रक्त क्यान्सर, मिर्गौला क्यान्सर र फोक्सोको क्यान्सर लागेका बिरामीले निःशुल्क रूपमा औषधि सेवन गरिरहेका छन् ।

पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. शाहीले नेपालमा दुई हजार क्यान्सर बिरामीले निःशुल्क औषधि सेवन गरिरहेको बताउँदै उनीहरूले मासिक १५ हजारदेखि १० लाख रुपियाँसम्मका औषधि सेवन गरिरहेको जानकारी दिनुभयो । उहाँले क्यान्सरका रोगीले लाखौँ रुपियाँबराबरका औषधि निःशुल्क पाउँछन् भन्ने सूचना सबै क्यान्सरका बिरामीले थाहा नपाएको बताउँदै शल्यक्रियापछि नियमित औषधि सेवन गर्नैपर्ने बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?