गोकर्ण दयाल
बैतडी, फागुन १० गते । गुणस्तरहीन मदिरा सेवन गर्दा बैतडीको शिवनाथ गाउँपालिकाका ६५ वर्षीय बृद्धको ज्यान गएको छ । मृतक शिवनाथ गाउँपालिका –१ गाना बस्ने वर्ष ६५ का उदयसिंह साउद रहेका छन् । शिवनाथ गाउँपालिका स्थित अस्थायी प्रहरी चौकीका अनुसार गाउँको सिमल चौतारा छेउमा शनिवार बिहान ९ः ५० बजे साउद मृत अवस्थामा फेला परेका हुन् ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक गौरीप्रसाद जैशीको नेतृत्वमा प्रहरी टोली खटिएको बैतडी प्रहरी प्रमुख प्रनाउ डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । प्रहरी चौकीका हवलदार चन्द्रसिंह पालीले घट्नाका बारेमा बुझ्दा साउदले शुक्रबार राति स्थानीय बजारमा मदिरा सेवन गरेको बुझिन आएको जानकारी दिनुभयो ।
जिल्लाको तल्लोस्वराड क्षेत्रमा पर्ने छ वटा वडा रहेको शिवनाथ गाउँपालिकामा ८४ वडा मदिरा पसल रहेका छन् । अवैध रुपमा उत्पादन गरिने मदिराको बिक्रि वितरण बन्द गर्न गाउँपालिकाले प्रयास गरेपनि हुन नसकेको गाउँपालिका अध्यक्ष कर्ण साउदले भन्नुभयो ।
साउदले भन्नुभयो, “ गाउँ जोड्ने सडक बिस्तार भएसँगै गाउँपालिकामा मदिरा छ्यापछ्याप्ती पुर्याइएको छ, अन्तशुल्कको स्टिकर नभएका अवैध मदिरा आउने गरेको छ ।”
१० वटा स्थानीय तह रहेको बैतडी जिल्लाका विभिन्न स्थानीय तहमा सडक पुगेपछि स्थानीय तहमा मदिरा कारोबार गर्नेहरु बढेका छन् ।