logo
२०८१ मंसिर ९ आईतवार



उपकरणयुक्त बन्दै अस्पताल

स्वास्थ्य |
खुला |


उपकरणयुक्त बन्दै अस्पताल


चन्द्रप्रकाश शर्मा
पोखरा, जेठ ८ गते । उपकरण र जनशक्ति अभावमा रिफर सेन्टर जस्ता बनेका जिल्लाका अस्पतालहरु आधुनिक उपकरणयुक्त बन्न थालेका छन् । विश्वव्यापी महामारीको रुपमा संक्रमण फैलइरहेको कोरोना भाइरस कोभिड १९ को प्रकोप नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत हुन थालेपछि अस्पतालहरु उपकरणयुक्त बन्न थालेका हुन् ।

गण्डकी प्रदेशको राजधानी पोखरा बाहेक अन्य जिल्लामा रहेका अस्पतालहरुमा जनशिक्तको अभाव र उपकरणको अभाव हुँदा आउँने विरामीहरुलाई रिफर गर्नुपर्ने बाध्यतामा रहेका अस्पतालहरुलाई उपकरणयुक्त बनाउँन थालिएको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले जानकारी दिनुभयो । राज्यको लगानी शिक्षा, स्वास्थ्यमा भन्दापनि अन्यमा बढी हुँदा अहिलेको संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा केही समस्या भएकाले अब शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेर अगाडि बढ्नुपर्ने अवस्था आएको पुनले बताउनुभयो ।

पुनका अनुसार चालु आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयमा प्राप्त ३३ करोड रुपियाँ हरेक जिल्ला जिल्लामा पठाइएको र जिल्लाहरुले उपकरण खरिदको काम थालनी गरेका छन् । पोखरामा बाहेक अन्य जिल्लामा सघन उपचार कक्षा समेत नभएको अवस्थामा पहिलो पटक धौलागिरि अञ्चल अस्पतालमा उक्त उपचार कक्षा स्थापना गरिएको छ । बागलुङमा भेटिएका दुई जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालमा सघन उपचार कक्षको अभावमा उपचार समस्या हुने भएपछि संघीय सरकार र प्रदेश सरकारको लगानीमा सघन उपचार कक्षा निर्माण गरिएको थियो ।

प्रदेश राजधानी पोखरामा रहेको सरकारी अस्पतालमा आवश्यक पूर्वाधार भएपनि जिल्ला जिल्लामा नहुँदा बिरामीहरुलाई रिफर गर्नुपर्ने समस्या रहेको, उपकरण अभावमा बिरामीले अकालमा ज्यान गुमाउँनुपर्ने अवस्था रहेको र जनशक्ति अभावमा डाक्टरको खोजीमा पोखरासम्म धाउनुपर्ने अवस्था रहेकोमा त्यसको अन्त्यका लागि प्रदेश सरकारकोतर्फबाट लगानी बढाइएको मन्त्री पुनले बताउनुभयो ।

अहिले पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पिसिआर मेसिन जडान, आइसुलेसन वार्ड निर्माण लगायतका काममा ६० लाख रुपियाँ खर्च गरि अत्याधुनिक बनाइएको, बागलुङमा आइसियु तथा भेन्टिलेटर युक्त बनाइएको र गोरखाको अस्पतालमा समेत आइसियु जडानको काम भइरहेको मन्त्री पुले बताउनुभयो । ‘सरकारी पैसा अस्पतालमा भन्दापनि अन्यत्र बढी लगानी गरेका रहेछौं, कोरोना संक्रमितको स्वास्थ्य अवस्था जटिल बन्दा आइसियु वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेपनि धौलागिरि अञ्चल अस्पतालमा त्यो नहुँदा समस्या भएको थियो, हामीले तत्काल संघीय सरकारसँगको आर्थिक साझेदारीमा आइसियु स्थापना गरेका छौं ।’ मन्त्री पुनले भन्नुभयो ।

संघीय सांसद डा. सूर्य पाठकले नेपालमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा आवश्यकताका आधारमा लगानी नहुँदा समस्या भएको बताउनुभयो । अहिले विश्वभरी आइसियु तथा भेन्टिलेटरको अभावमा मानिसहरु मरिरहेका छन् । नेपालमा सिमित ठाउँमा मात्र उपकरणहरु हुँदा उपकरणयुक्त अस्पतलामा पुग्दा पुग्दै मानिसको मृत्यु हुने अवस्था आएकाले हरेक जिल्ला जिल्लामा आधुनिक उपकरणयुक्त अस्पताल आवश्यक रहेको बताउनुभयो । आफूले शिक्षा र स्वास्थ्यमा राज्यको लगानी कम रहेको आवाज उठाउँदै आएकाले आफूले विनियोजन गर्न पाउँने पूर्वाधार विकास कार्यक्रमको बजेट धौलागिरि अञ्चल अस्पतालको आइसियु स्थापनकालागि समेत विनियोजन गरेको बताउनुभयो ।

गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले अस्पतालहरुलाई आधुनिक उपकरणयुक्त बनाउँनकालागि प्रदेश सरकारकातर्फबाट आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो । अहिले कोरोना भाइरसको संक्रमण देखिएका ठाउँमा बढी ध्यान केन्द्रित भएपनि आगामी दिनमा हरेक जिल्ला तथा स्थानीय तहमा रहेका अस्पतालहरुको विकासमा लगानी बढ्नेछ ।

यस्तै लमजुङ समाचारदाता बेलिना थापाकाअनुसार लमजुङको बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा आईसीयु, भेन्टीलेटर र डाइलासीसको व्यवस्थापन गरिने भएको छ । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले अस्पतालमा आइसीयु, भेन्टीलेटर र डाइलासीसको व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । अस्पताल भएपनि आवश्यक उपकरण नहुँदा उपचारमा समस्या भएकाले आवश्यक पूर्वाधार युक्त अस्पताल निर्माणका लागि आवश्यक पहल सुरु गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?