गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरसको महामारीविरुद्ध लड्नका लागि सञ्चालनमा ल्याएको 'हाम्रो स्वास्थ्य' नामक मोबाइल एप्लिकेशन अब एन्ड्रोईड र आईओएस दुवै अपरेटिङ सिस्टममा उपलब्ध हुने भएकाे छ ।
करिब एक महिनाअघि एन्ड्रोईडमा सञ्चालनमा ल्याएको हाम्रो स्वास्थ्य मोबाइल एप्लिकेशन शुक्रबारदेखि आइओएसमा समेत उपलब्ध भएपछि अब एप्पल लगायत अन्य जुनसुकै स्मार्ट फोनका प्रयोगकर्ताले याे एप्स प्रयोग गर्न सक्नेछन् ।
उक्त मोबाईल एप प्रयोगकर्ताले आफ्नो स्वास्थ्यको नियमित जानकारी स्वास्थ्य मन्त्रालयलाई प्रदान गर्नसक्ने छन् भने उक्त विवरणका आधारमा कोभिड १९ सँग मिल्दोजुल्दो भए उक्त व्यक्तिलाई स्वास्थ्य मन्त्रालयका स्वास्थ्यकर्मीले सम्पर्क गरी आवश्यक स्वास्थ्य परामर्श र अन्य आवश्यक स्वास्थ्य सहयोग गर्नेछन् । साथै विदेशबाट आएका र अन्य शङ्कास्पद व्यक्तिबारे मन्त्रालयका स्वास्थ्यकर्मीलाई सूचना समेत दिन सकिन्छ ।
स्थानीय तहका तोकिएका प्रतिनिधिले आफ्नो पालिकाको क्षेत्रभित्रका मोबाईल एप्लिकेशन प्रयोग गर्ने नागरिकहरूको स्वास्थ्य विवरण लिई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्नसक्ने व्यवस्था स्वास्थ्य मन्त्रालयले मिलाएको छ ।
उक्त मोबाइल एप्लिकेशनले कोभिड १९ का सम्भावित बिरामीको नजिक गएका खण्डमा ब्लुटुथ मार्फत तत्कालै सतर्क गराउने गर्दछ । आफ्नो नजिकैका स्वास्थ्य कार्यालय, अत्यावश्यक सम्पर्क नम्बरहरू, देशभरमा कोरोनाको स्थिति, मन्त्रालयका सूचनाहरूलगायत सूचना एप्लिकेशनमार्फत लिन सकिन्छ । देशभरका स्वास्थ्य सेवा उक्त एप्लिकेशनमा उपलब्ध नक्सामार्फत समेत हेर्न सकिन्छ । अहिलेसम्म करिब एक लाख सात हजार भन्दा बढीले यो एप्लिकेशन प्रयोग गरेका छन् । एप्लिकेशनमा आवश्यकताअनुसार थप विशेषताहरू थप्दै लैजाने मन्त्रालयको तयारी छ ।