logo
२०८१ बैशाख ७ शुक्रवार



स्याङ्जा र पर्वतका थप दश जनामा काेराेना सङ्क्रमण, गण्डकीमा कुल ३७ सङ्क्रमित

स्वास्थ्य |
प्रदेश |


स्याङ्जा र पर्वतका थप दश जनामा काेराेना सङ्क्रमण, गण्डकीमा  कुल ३७ सङ्क्रमित


चन्द्रप्रकाश शर्मा
पोखरा, जेठ २० गते । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस कोभिड - १९ सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा स्याङ्जाका पाँच र पर्वतका पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२, २६, ३२ र ४० वर्षका पुरुष र बिरुवा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २० वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै, पर्वत जिल्लामा पहिलोपटक कोरोनाका सङ्क्रमित भेटिएका छन् । पर्वतको कुश्मामा रहेको क्वारेन्टाइनमा बसेका फलेवास नगरपालिकाका २० र ४० वर्षका पुरुष तथा महाशीला गाउँपालिकाका १९, २० र २१ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमण पुष्टि भएका १० जना नै स्थानीय तहको समन्वयमा भारतबाट नेपाल भित्रिएका थिए । उनीहरूलाई नेपाल भारत सीमाबाट सिधै क्वारेन्टाइनमा ल्याएर राखिएको थियो । अहिलेसम्म गण्डकी प्रदेशका ११ जिल्लामध्ये स्याङ्जामा १२, नवलपरासीमा नौ, बागलुङमा आठ, पर्वतमा पाँच, तनहुँमा एक, म्याग्दीमा एक र लमजुङमा एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये बाग्लुङका दुई र लमजुङका एक जना निको भएर घर फिर्ता भइसकेका छन् ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा सङ्कलन गरिएको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको प्रयोगशाला तथा भरतपुर अस्पताल, चितवनको प्रयोगशालामा परीक्षण गरिँदैआएको छ । गण्डकी प्रदेशमा भारतबाट फर्कनेको सङ्ख्या बढ्दै गएपछि परीक्षणको दायरासमेत बढाउन थालिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार सोमबारसम्म तीन हजार ७०१ जनाको स्वाब नमूना सङ्कलन गरिएकोमा तीन हजार ३०९ जनामा कोरोना सङ्क्रमण नदेखिएको र ३६३ जनाको रिपोर्ट आउँन बाँकी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?