logo
२०८० चैत्र १५ बिहीवार



भारत हुँदै भित्रिनेको व्यवस्थापनमा जुट्दै गण्डकी प्रदेशका स्थानीय प्रशासन

प्रदेश |


भारत हुँदै भित्रिनेको व्यवस्थापनमा जुट्दै गण्डकी प्रदेशका स्थानीय प्रशासन


चन्द्रप्रकाश शर्मा
पोखरा, जेठ ५ गते । कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणलाई फैलिन नदिन गरिएको बन्दाबन्दीकै समयमा छिमेकी भारतबाट भित्रिनेको व्यवस्थापन गर्ने योजनामा स्थानीय प्रशासन जुटेका छन् । अहिलेसम्म नेपालमा भेटिएका सङ्क्रमितमध्ये धेरैजसो भारतबाट आएका भएको र त्यहाँ सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएकाले भारतबाट आउनेहरूको व्यवस्थापनको तयारी सुरु गरिएको हो ।

दुई महिनाको बन्दाबन्दीको समयमा नेपालका एक ठाउँबाट अर्को ठाउँमा पैदल या लुकीछिपी जानेको सङ्ख्या घट्दै गएपनि भारत–नेपाल सीमा क्षेत्रमा आएका नेपालीको व्यवस्थापनमा विशेष चासोका साथ काम गरिरहेको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको नवलपरासीमा अहिलेसम्म करिब ७० जना भारतीय क्षेत्रबाट आएकाले उनीहरूलाई सम्बन्धित स्थानीय तहले स्थापना गरेको क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणपछि मात्र घर पठाइने घिमिरले बताउनुभयो ।
गण्डकी प्रदेशको भारतसँग जोडिएको त्रिवेणी नाकामा कडाइ गरिएका कारण सीधै प्रवेश नगरे पनि रुपन्देही, पश्चिम नवलपरासी लगायतका ठाउँबाट मानिसहरू भित्रिएको घिमिरले बताउनुभयो । जिल्ला भित्रिने मानिसहरू नवपरासीका मात्र नभई अन्य जिल्लाका पनि भएकाले सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा सम्बन्धित जिल्लामै पठाउँने काम भइरहेको घिमिरेले जानकारी दिनुभयो ।

भारतले बन्दाबन्दीकै समयमा आन्तरिक रेल सेवा सुरु गरेपछि विभिन्न भारतीय शहरहरूमा कामका लागि गएका नेपाली सीमा क्षेत्रमा आइपुगेका थिए । तीन–चार दिनको रेल यात्राबाट नेपालको सीमाक्षेत्रमा आइपुगेका नेपालीलाई व्यवस्थापन नगर्दा लुकीछिपी नेपाल प्रवेश गर्ने र झन जोखिम बढ्ने भएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला जिल्लामा पठाउने गरिएको छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजुकाअनुसार आइतबार मात्र भैरहवा र धनगढी नाका हुँदै करिब ३० जना बागलुङ आउने क्रममा रहेका छन् । जिल्ला प्रवेश गर्ने सबैलाई स्थानीय तहहरूले स्थापना गरेको क्वारेन्टाइनमा राख्ने र पीसीआर परीक्षणपछि मात्र घर पठाउने सैँजुले बताउनुभयो । तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीकाअनुसार आइतबार भैहरवा नाकाबाट १२ जना र कैलालीबाट आठ जना जिल्ला प्रवेश गरेको र उनीहरूलाई सम्बन्धित स्थानीय तहमा पठाइएको छ ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङकाअनुसार अहिले तीन दिनको अवधिमा ४३ जना जिल्ला प्रवेश गरेका छन् । प्रवेश गरेका सबैलाई स्थानीय तहले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ । गोरखामा यो अवधिमा दुई जना जिल्ला प्रवेश गरेको र उनीहरूलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय, गोरखाले जनाएको छ ।

पहिलो चरणमा गण्डकी प्रदेशका सबै जिल्लामा विदेशबाट आएका, सङ्क्रमितको सम्पर्कमा रहेका र सङ्क्रमणको लक्षण देखिएकाको आरडीटी तथा पीसीआर प्रविधिबाट परीक्षण गरिएको थियो । चैतयता गण्डकी प्रदेशमा करिब पाँच हजार मानिसहरू विदेशबाट आएको भएपनि भारतमा कोरोनाको सङ्क्रमण फैलिइनसकेका कारण कोरोना सङ्क्रमित नभेटिएपनि अहिले सङ्क्रमण फैलिइरहेको बेला आएकाबाट जोखिम बढ्ने भएकाले थप सतर्क रहनुपर्ने अवस्था आएको स्वास्थ्यकर्मी बताउँछन् ।

मृतकको सम्पर्कमा आएका छ जना आइसोलेसनमा

केही दिनअगाडि कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको सम्पर्क रहेका स्याङ्जाका छ जनालाई आइसाेलेसनमा राखिएको छ । काठमाडौँस्थित शिक्षण अस्पतालमा छोरीको उपचारका लागि गएका स्याङ्जाका एक दम्पत्ति, एक एम्बुलेन्स चालक र सोही एम्बुलेन्समा जिल्ला आएका दुई जनालाई आइसाेलेसनमा राखिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?