सरोज ढुङ्गेल
काठमाडौँ, जेठ २६ गते । पछिल्लो समय कोरोना भाइरसले दुई महिनाको शिशुलाई पनि सङ्क्रमित बनाएको छ । यस्तै कोरोना सङ्क्रमित आमाबाट भर्खर जन्मिएको शिशुमा भने कोरोना देखिएको छैन ।
धुलिखेल अस्पतालमा सुत्केरी भएकी र पछि कोरोना सङ्क्रमण देखिएपछि महिलाको मृत्यु भयो तर शिशुमा कोरोना देखिएन । के शिशुलाई कोरोना सर्दैन ? शिशुको रोग प्रतिरोधात्मक क्षमता धेरै हुन्छ ? यिनै विषयमा परोपकार, प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा कार्यरत प्रमुख बालरोग विशेषज्ञ डा. कल्पना उपाध्याय सुवेदीसँग कुरा गरिएको छ । उहाँका भनाइ यस प्रकार छन् :
कोरोना भाइरस शिशुलाई नलाग्ने भन्ने हुँदैन । कोभिड–१९ रोग नयाँ भएकाले यसको अनुसन्धान कम भएको छ । अहिले जे देखिइरहेको छ त्यसैका आधारमा मानिसले आकलन गरेका छन् । जति पनि बाहिरतिर सिरिएस केस ६० वर्षभन्दा माथिका र अरू दीर्घरोग भएकालाई कोरोना भाइरस बढी देखिएको छ । बालबालिकामा त्यति जटिल अवस्था देखिएको थिएन । शिशुमा कोभिड हुँदै नभएको भने होइन । हामीकहाँ अहिलेसम्म देखिएकोमा आमासँग बसिरहेका बालबालिकामा कोरोना देखिएको छ । दुई महिनाको शिशुमा पनि कोरोना देखिएको छ तर कसैमा पनि जटिल भएको भन्ने छैन । भएकोमा पनि अरू केही न केही रोग छ भने मात्र जटिल भएको छ । भर्खर जन्मेको शिशुमा कोरोना देखिएको छैन । चीनमा जम्मा तीन शिशुमा देखिएको थियो । त्यसमा पनि पीसीआर गर्दा नेगेटिभ आएको थियो । बालबालिकाको कुरा गर्दा आमाको पेटबाटै शिशुमा सरेको छैन । पछि आमाको श्वासप्रश्वास, थुकबाट भने सर्न सक्छ ।
भर्खर जन्मेकामा भने आमालाई छ भने पनि शिशुलाई देखिएको छैन । पेटभित्र सर्न सक्दैन । आमाको दूध खुवाउँदा, आमाको दूधमा पनि परीक्षण गरियो । त्यसमा पनि देखिएको छैन । दूधबाट सर्ने होइन । मुख्य सर्ने भनेको श्वासप्रश्वासबाटै हो । आमाले हात राम्रोसँग धुने, मास्क लगाएर दूध खुवाउने हो भने शिशुमा सर्न सक्दैन । बालबालिकामा रोगसँग लड्ने क्षमता पनि धेरै हुन्छ । धुलिखेलमा आमाको कोरोनाका कारण मृत्यु भयो । त्यस्तै उहाँको शिशुमा कोरोना भाइरस थिएन । त्यसैले पेट भित्रको शिशुलाई कोरोना सर्न सक्दैन । आमा सङ्क्रमित हुनुहुन्छ र उहाँको थुक, श्वासप्रश्वास प्रत्यक्ष शिशुमा गयो भने मात्र सर्न सक्दछ । शिशुमा सर्न सक्ने सम्भावना कम भए पनि हामीले सावधानी भने अपनाउनै पर्छ ।
प्रसूति गृहमा वार्षिक २४ हजारसम्म शिशु जन्मने गर्दछन् । यहाँ सबैतिरबाट जटिल किसिमको रिफर केस मात्र आउने गर्दछ । प्रसूति गृहबाट रिफर भएर बाहिर जाने सम्भावना न्यून छ । आमालाई जटिल किसिमको मुटुको समस्या छ भने मात्र रिफर गर्ने गरिन्छ ।
यहाँ शिशु जन्मँदा सास फेर्न गाह्रो हुने, नाभी बेरिने समस्या भएर जन्मने गर्दछन् । जम्मा ४० बेड आईसीयूमा कहिल्यै पनि प्रायः खाली हुँदैन । ४० बेडमा चार बेड कङ्गारु बेडका लागि छुट्याइएको छ ।
जन्मँदा शिशु निस्सासिनु नवजात शिशु मृत्युको प्रमुख कारणभित्र पर्दछ । त्यस्ता जन्मनासाथ अतिरिक्त साधन अपनाई आवश्यक कृत्रिम श्वासप्रश्वास दिनुपर्छ । जन्मँदा निस्सासिएका नवजात शिशुलाई तत्काल श्वासप्रश्वास दिने जस्ता गुणस्तरीय स्याहार प्रदान गरेमा शिशुको मृत्युको जोखिम र भविष्यमा हुनसक्ने वृद्धि विकासका सुस्तता तथा अपाङ्गतालाई न्यूनीकरण गर्न सकिन्छ । समय नै नभई शिशु जन्मने गर्दछन् । आमाको पाठेघरको मुख नखुलेर पनि त्यस्ता शिशु जन्मन सक्छन् । यस्तै आमाको पाठेघरभन्दा शिशुको संरचना ठूलो छ भने पनि शिशु जन्माउन गाह्रो हुन्छ । त्यो अवस्थामा शिशु बाङ्गो भएर बस्यो भने पनि पेटभित्र शिशु निस्सासिन सक्छ ।