दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन १९ गते । वीरगञ्जमा शनिबार र आइतबार छुट्टाछुट्टै दुई स्थानमा मृत भेटिएका दुई जनामध्ये एक जनाको पीसीआर परीक्षण नतिजा काेराेना नेगेटिभ आएको छ । अर्काे रिपाेर्ट आउन बाँकी छ ।
नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले शनिबार मृत भेटिएका वीरगञ्ज वडा नम्बर १६ गणेशटोलका अविवाहित ६५ वर्षीय पुरूषको स्वाब परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ आएको र वीरगञ्ज वडा नम्बर १५ भिस्वामा मृत फेला परेका २३ वर्षीय युवकको भने पीसीआर परीक्षणको रिपाेर्ट आउन बाँकी रहेको बताउनुभयो ।
वीरगञ्ज वडा नम्बर १६ गणेशटोलमा रहेको आफ्नै निवासमा ती ६५ वर्षीय पुरूष मृत भेटिनुभएको हो । घरमै बसिरहेको अवस्थामा उहाँको स्वास्थ्यमा गडबडी भई उपचारको अभावमा मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र पीसीआर रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
त्यसैगरी, वीरगञ्ज–१५ भिस्वा क्षेत्रको जिल्ला आयुर्वेद अस्पताल नजिक आइतबार बिहान मृत फेला परेका २३ वर्षीय युवकको पीसीआर रिपाेर्ट समाचार तयार पार्दासम्म आइसकेको छैन । आइतबार मृत भेटिएका २३ वर्षीय युवक डेरामा बसी दैनिक ज्यालादारीमा काम गर्दैआएका र ती युवकको मृत्युको कारण अत्यधिक मदिरासेवन हुन सक्ने प्रहरीको ठम्याइ छ । तर, उनको मृत्यु कोरोना सङ्क्रमणबाट भएको हो वा होइन भनी यकिन गर्न उनको स्वाब सङ्कलन गरी परीक्षणको लागि नारायणी प्रयोगशालामा पठाइसकिएको प्रनाउ मनोजित कुँवरले बताउनुभयो ।।
जहाँ युवकको शव भेटिएको थियो, त्यहाँ उनको दाजुको घर रहेको र दैनिक ज्यालादारी गर्ने उनी सधैँ मदिरा सेवन गर्ने गरेको प्रहरीले बताएको छ ।