सिराज खान
नरैनापुर (बाँके), मङ्सिर १८ गते । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको बाँकेको नरैनापुर गाउँपालिकाको एउटै वडामा ८० जनाको आँखामा मोतियाविन्दु भेटिएको छ ।
विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको सहयोगमा नरैनापुर गाउँपालिकाले वडा नम्बर २ मा आयोजना गरेको निःशुल्क आँखा शिविरमा आँखा परीक्षण गराउन आएका मध्ये ८० जनामा मोतियाविन्दु फेला परेको गाउँपालिकाले जनाएको छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले निःशुल्क आँखा शिविरमा आँखा परीक्षणका लागि आएका ३४६ जना सर्वसाधारण मध्ये ८० जनामा मोतियाविन्दु भएको पाईएपछि उनिहरुलाई शल्यक्रियाका लागि नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालमा रेफर गरिएको बताउनुभयो ।
उहाँले ती सबैको निःशुल्क शल्यक्रिया गरिने तथा अस्पतालमा लैजाने र घर फिर्ता ल्याउने काम पनि संघसंस्थाहरुकै सहयोगमा गरिने बताउनुभयो ।
धेरै समयपछि सो क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएकोले आँखामा समस्या भएकाहरु धेरै संख्यामा शिविरमा आएको स्थानीय मकबुल अहमदले बताउनुभयो ।
समयमै आँखा परीक्षण गराउन नपाएर नै अधिकांशको आँखामा मोतियाविन्दु भएको जनाउँदै फत्तेबाल आँखा अस्पताल नेपालगञ्जका कार्यक्रम अधिकृत तथा वरिष्ठ नेत्र सहायक उमेर अहमद सादिकले बताउनुभयो ।
उहाँले मोतियाविन्दु हुनेहरुमा अधिकांश ५० वर्षभन्दा बढी उमेरका नागरिकहरु भएको जनाउँदै शल्यक्रियापछि सो समस्या समाधान हुने बताउनुभयो ।
गाउँपालिकाद्धारा आयोजना गरिएको सो निःशुल्क आँखा शिविरको सञ्चालनमा कतार च्यारेटीको आर्थिक सहयोग रहेको थियो भने नेपाल नेत्र ज्योती संघ बाँके फत्तेबाल आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।
सो निःशुल्क आँखा शिविरमा ३४६ जनाको आँखा परीक्षण गरिएको थियो भने आवश्यक परेकालाई औषधी र चश्मा समेत निःशुल्क वितरण गरिएको थियो ।
सो शिविरमा फत्तेबाल आँखा अस्पतालका कार्यक्रम अधिकृत उमेर अहमद सादिक, नेत्र वरिष्ठ सहायक एम राज बर्मा, नेत्र सहायकहरु शुषमा थारु र फलक सादिक तथा नेत्र सहायक परिक्षार्थिहरु नुर मोहम्मद, विमला कार्की, विनिता शाही र जोया शेषले सर्वसाधारणको आँखा परीक्षण गर्नुभएको थियो ।