logo
२०८० चैत्र १५ बिहीवार



कोरोनाविरुद्धको खोप स्वीकृत

स्वास्थ्य |


कोरोनाविरुद्धको खोप स्वीकृत


सरोज ढुङ्गेल

काठमाडौँ, माघ ३ गते । नेपालले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले भारतमा उत्पादित ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो । विभागले ‘सेरम इन्स्टिच्युट अफ इन्डिया’ले उत्पादन गरिरहेको ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोगको लागि स–सर्त अनुमति दिने निर्णय गरेको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिनुभयो ।
‘कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका मिलेर विकास गरिएको खोप हो । भारतले पनि यो खोपलाई आपत्कालीन प्रयोगको लागि अनुमति दिइसकेको छ । औषधि व्यवस्था विभागले दुई दिनअघि आपत्कालीन अनुमतिका लागि प्रयोग गरिने खोप दर्ताका लागि आह्वान गरेको थियो । पुस २० गते सरकारले खोप ल्याउनका लागि चारवटा ‘मोडालिटी’ बनाएको छ, महानिर्देशक भट्टराईले भन्नुभयो । महानिर्देशक भट्टराईले अब खोप ल्याउन बाटो खुलेको बताउनुभयो ।
सरकारले यसअघि नै पहिलो चरणमा एक करोड २० लाख मानिसलाई प्राथमिकताको आधारमा खोप दिनुपर्ने मापदण्ड बनाएको छ । त्यसमा स्वास्थ्यकर्मी, वृद्धवृद्धा, शिक्षक, सुरक्षाकर्मी पहिलो नम्बरमा पर्छन् । पहिलो चरणमा ३० प्रतिशतलाई खोप दिने सरकारी तयारी छ ।
महानिर्देशक भट्टराईले लामो समयपछिको प्रयास सफल भएको जानकारी दिनुभयो। भारतले शनिबारदेखि ‘कोभिसिल्ड’ खोप लगाउने सुरु गर्नेछ । पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मीलाई खोप दिइनेछ ।
उक्त खोपको प्रभावकारिता ९० प्रतिशतसम्म रहेको छ । सरकारले निःशुल्क जनतालाई खोप दिने बताउँदै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्य संस्थामा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको विवरण पनि मागिसकेको छ । अग्र भागमा काम गर्नेबाहेक सरकारले ५५ वर्ष कटेका, ४० देखि ५४ वर्षका अन्य रोगले ग्रसित व्यक्तिलाई खोप दिइने तयारी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?