logo
२०८१ बैशाख ६ बिहीवार



सस्तो छ नेपालमा दाँतको उपचार

स्वास्थ्य |
मुख्य समाचार |


सस्तो छ नेपालमा दाँतको उपचार


सरोज ढुङ्गेल

काठमाडौँ, चैत ८ गते । बेलायतमा बस्ने नीता राई दाँतको रोगी हुनुहुन्छ । उहाँलाई दाँत दुख्ने समस्याले पिरोलिरहन्छ । बेलायतमा दाँतको उपचार गर्न धेरै महँंगो हुने भएकाले गत वर्ष नेपाल आउँदा उहाँले दाँतको उपचार गर्नुभयो ।
सुरुमा दाँतका लागि राम्रो र सस्तो भनेर वीर अस्पताल जानुभएकी राई वीरमा एउटा दाँतको उपचार गर्न एक महिनाभन्दा बढी समय लाग्ने भएपछि ओम समाज डेन्टल अस्पताल, कलङ्कीमा गएर तीन दिनमै सम्पूर्ण दाँतको उपचार गराउनुभयो । नेपालमा दुईवटा दाँत हाल्ने, आरसीटी गर्नेजस्ता सबै उपचार गर्दा उहाँको उपचारमा ५० हजार रुपियाँभन्दा माथि लागेन ।
तर त्यही उपचार बेलायतमा कम्तीमा पाँच लाख रुपियाँ लाग्न सक्ने उहाँको अनुभव छ । यस्तै अस्ट्रेलियामा बसोबास गर्दै आउनुभएकी रेस्मा लोहनी पेसाले नर्स हुनुहुन्छ । उहाँको पनि दुवैतिरको बङ्गरा कीराले खाएर सखाप पारेको छ । सानैदेखि अत्यधिक गुलियो पदार्थ तथा चकलेट खाएका कारण उहाँलाई अहिले दाँतले दुःख दिइरहेको छ । उहाँ नेपाल आउन पाउनुभएको छैन । उहाँले अस्ट्रेलियामै एमएन नर्सिङ अध्ययन सक्नुभयो । उहाँ पनि नेपाल आउनासाथ दाँतको उपचार गर्ने योजनामा हुनुहुन्छ । यस्तै अस्ट्रेलियामा दाँतको उपचार महँगो हुने भएकाले उहाँ पनि नेपालमै आएर उपचार गर्ने सोचमा हुनुहुन्छ ।
अमेरिकामा रहनुभएका ओम थापा पहिलेदेखिकै दाँतको रोगी हुनुहुन्थ्यो । चार वर्षपहिले डीभी परेर अमेरिका जानुभएका उहाँलाई अहिले दाँतको समस्या देखिन थालेको छ । नेपालमा हुँदा वीर अस्पतालमा उपचार गर्नुभएका थापाको कहिलेकाहीँ दाँत अत्यधिक दुख्ने गरेको छ । थापा भन्नुहुन्छ, “यहाँ स्वास्थ्य बीमा गर्न धेरै महँगो पर्छ । बीमा गराएको भए जति खर्च लागे पनि अमेरिकामै उपचार गर्न सकिन्थ्यो । बीमा नगराउँदा हाम्रो कमाइले उपचार गर्न गाह्रो छ ।”
यी प्रतिनिधि पात्र मात्र हुन् । विदेशको तुलनामा नेपालमा दाँतको उपचार धेरै सस्तो भए पनि नेपालीको आर्थिक सम्पन्नताको तुलनामा अन्य उपचारभन्दा मुख स्वास्थ्य उपचार धेरै महँंगो छ ।
 
वरिष्ठ दाँत रोग विशेषज्ञ डा. सुवास घिमिरेले सरकारी निकाय नै मुख स्वास्थ्यप्रति उदासीन रहेको बताउनुहुन्छ । स्वास्थ्य मन्त्रालयले मुख स्वास्थ्य दिवसमा कुनै पनि कार्यक्रम नगरेकोप्रति गुनासो गर्दै उहाँले सबैभन्दा महìवपूर्ण मुख स्वास्थ्यमै सरकारको ध्यान नजानु दुःखद भएको बताउनुभयो ।
उहाँले नेपालमा मुख स्वास्थ्य (दाँतको उपचार) अन्य मुलुकभन्दा धेरै सस्तो रहेको जानकारी दिँदै नेपालीको आम्दानीको तुलनामा महँंगो भएको बताउनुभयो । दन्तरोगको सबै उपकरण विदेशबाटै आउने हुँदा अन्य मुलुकको तुलनामा धेरै सस्तो भएको उहाँको दाबी छ । अमेरिका, बेलायत, अस्ट्रेलिया, स्विजरल्यान्डदेखि नेपाली दाँतको उपचारका लागि नेपालमै आउने उहाँको भनाइ छ ।
डा. घिमिरेका अनुसार नेपालमा ७० प्रतिशत बालबालिकाको दाँतमा कीरा लाग्ने गरेको छ भने ९० प्रतिशत बालबालिकादेखि वृद्धसम्मलाई गिँजाको समस्या छ । स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखा आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य विभाग प्रमुख डा. प्रकाश बुढाथोकीले यस पटक स्वास्थ्य मन्त्रालयले मुख स्वास्थ्य दिवसमा कुनै कार्यक्रम नगरेको स्वीकार्दै अन्य सङ्घसंस्थाले गरेको कार्यक्रममा समन्वयनात्मक भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले
मुख स्वास्थ्यलाई राष्ट्रिय
प्राथमिकतामा पार्नु जरुरी भएको स्पष्ट पार्नुभयो ।
दन्तरोग सहायक सर्वेश्वर घिमिरेले आफूले दैनिक ३० जनासम्म दाँतका रोगीको उपचार गर्ने गरेको जानकारी दिँदै सबै रोगी दाँत कीराले खाएका, आरसीटी गर्नुपर्ने, दाँत निकाल्नुपर्ने अस्पताल आउने गरेको जानकारी दिनुभयो । यसैबीच शनिबार विश्व मुख दिवस मनाइएको छ । चाबहिलस्थित ओम समाज डेन्टल अस्पताल र नेपाल डेन्टल एसोसिएसनले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुख स्वास्थ्य प्राथमिकतामा राखिनुपर्ने बताउनुभयो ।
यस्तै नेपाल डेन्टल हाइजेनिक सङ्घले पनि माइतीघरमा दाँत माझ्न सिकाएर मुख स्वास्थ्य दिवस मनाइएको छ । संस्थाका अध्यक्ष माइकल देवकोटाले दाँतलाई बेवास्ता गरेर दन्त रोग लाग्ने भएकाले माइतीघरमा दाँत माझ्न सिकाएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?