logo
२०८० चैत्र १६ शुक्रवार



सेतो पुतलीबाट लाग्ने सापु रोगकाे जाेखिम बढ्दाे

स्वास्थ्य |
खुला |


सेतो पुतलीबाट लाग्ने सापु रोगकाे जाेखिम बढ्दाे


काठमाडौं, असोज १ गते । पछिल्लो समय नेपालका मध्ये पहाडी क्षेत्रहरुमा सेतो पुतलीबाट लाग्ने सापु रोग देखिन थालेको छ । मध्ये पहाडी जिल्लाका पोखरा, स्याङ्जा, गुल्मी, लमजुङ, बाग्लुङलगायतका जिल्लामा यो रोग देखिएको चिकित्सकले बताएका छन् । सिजनल हाईपरएक्युट पानुभिआईटिस अर्थात सापु रोगले आँखाको दृष्टि नै गुम्न सक्ने भएकाले आँखामा समस्या आउने वित्तिकै अस्पतालमा जान चिकित्सकको आग्रह छ ।
त्रिवि शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा. सञ्जिव भट्टराईले भदौ महिनाबाट पुतलीको प्रजनन सुरु हुने भएका कारण भदौदेखि मंसिर महिनासम्म यसको जोखिम रहेको बताउनुभएको छ । बालबच्चा बढी पुतलीसगँ खेल्न खोज्ने भएका कारण पनि बालबालिकामा यसको जोखिम उच्च रहेको उहाँले बताउनुभयो । पोखरामा ५० भन्दा धेरै यस रोगका संक्रमितहरु उपचाररत रहेकाले यसको प्रकोप बढिरहेको उहाँको भनाइ छ । त्रिवि शिक्षण अस्पतालमा पोखराबाट रेफरमार्फत् आएको एक जनाको अहिले उपचार जारी रहेको उहाँले बताउनुभयो ।
यो रोग लागेको लक्षण देखिनासाथ ४५ घण्टाभित्र उपचार सुरु भए सामान्य अवस्थामै ठिक हुने भए पनि ढिला हुँदा शल्यक्रिया नै गर्नुपर्ने डा. भट्टराई बताउनुहुन्छ । यसकारण आँखामा कुनै समस्या देखिनासाथ तुरुन्त जाँच गराउन उहाँको आग्रह छ ।
सापु रोग लाग्दा आँखा रातो हुने, उज्यालोमा हेर्न गाह्रो हुने, आँखाको कालो भागको बीचमा सेतो हँुदै जाने, ज्यादै छोटो समयमा दृष्टि कम हुँदै जानु, आँखा पाके जस्तो देखिए पनि चिप्रा पटक्कै नआउने नै यसका मुलभूत लक्षणहरु रहेको उहाँको भनाइ छ ।
नेपालमा यो रोग २०३२ सालमा पोखरामा देखापरेको थियो । त्यसको चार वर्षपछि मात्र डा. मदन उपाध्यायको टोलीले यो रोगको नाम सापु राखेको हो । यो रोग देखिएको चार दशक भए पनि यसको कारण सेतो पुतलीलाई मात्र लिइएको छ । बत्तिको वरपर घुम्ने सेतो पुतलीको शरीरमा हुने हानिकारक रसायनको कारणले नै यो रोग लाग्ने विज्ञहरु बताउनुहुन्छ ।
सापु रोगबाट बच्न बत्तिको वरीपरी आउने सेतो पुतलीको संसर्गमा नरहनु नै प्रमुख उपाय भएको उहाँले बताउनुभयो । यसको अलवा राति सुत्दा झुलको प्रयोग गर्ने, झ्यालमा जालीको प्रयोग गर्ने, साबुन पानीले हात पटकपटक धुने जस्ता कार्यहरु गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
सापु रोग पछिल्ला दिनमा धेरै व्यक्तिहरुमा देखिएकाले यसको रोकथाम , नियन्त्रण तथा जनचेतना विस्तारमा सरकारले पनि ध्यान दिनु आवश्यक रहेको उहाँको दावी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?