नारद कोहार
तौलिहवा, कार्तिक १६ गते । जिल्लाको सदरमुकाम तौलिहवास्थित नेपाल बाल सङ्गठनद्वारा सञ्चालित बालगृहका बालबालिकालाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । राष्ट्रिय आरोग्य दिवसको अवसरमा बालगृहमा रहेका बालबालिकालाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । बालगृहले २६ जना बाबुआमा गुमाएका बालबालिकालाई लालनपालन गरिरहेको छ ।
मानिसको जीवनमा स्वास्थ्य नै महत्वपूर्ण रहेकाले कुनै पनि कार्य गर्दा स्वास्थ्यलाई ख्याल गरिनुपर्ने जिल्ला आयुर्वेद अस्पताल विकास समितिका अध्यक्ष रउफ अहमद खाँले बताउनुभयो । स्वास्थ्य परीक्षणसँगै बालगृहलाई केही औषधि निःशुल्क वितरण गरिएको उहाँले बताउनुभयो ।
आउने दिनदेखि बालगृहमा रहेको बालबालिकालाई तीन तीन महिनामा नियमित स्वास्थ्य परीक्षण गर्ने कपिलबस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. प्रवेश श्रीवास्तवले बताउनुभयो । कोरोनाकालमा कोभिड १९ बाट संक्रमित भएका सात सय भन्दा बढीलाई सेवा दिएकाे उहाँले बताउनुभयो ।
कार्यक्रममा बालगृहका प्रमुख रामप्रसाद अर्याल र आयुर्वेद स्वास्थ्य केन्द्रका डा.आशिष चौधरीलगायतको सहभागिता थियो ।