logo
२०८१ मंसिर १२ बुधवार



चिसो मौसममा मुस्ताङ जिल्ला अस्पताल डाक्टरविहीन

स्वास्थ्य |
खुला |
प्रदेश |


चिसो मौसममा मुस्ताङ जिल्ला अस्पताल डाक्टरविहीन



अमृतप्रसाद पौडेल
बेनी, कार्तिक २० गते । हिमालपारीको जिल्ला मुस्ताङमा रहेको सरकारी अस्पताल अहिले चिकित्सकविहीन अवस्थामा पुगेको छ । जिल्लाकै एक मात्र अस्पतालमा डाक्टर व्यवस्था हुन नसक्दा चिकित्सकीय सेवा प्रभावित बनेको हो ।
मुस्ताङ जिल्ला अस्पताल जोमसोममा कार्यरत करारका दुई जना डाक्टरको पनि करार अवधि सकिएपछि अस्पताल खाली जस्तै भएको छ । मुस्ताङको सदरमुकाम जोमसोममा रहेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन मनोज घिमिरे कार्तिकको शुरुमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काजमा खटिएको र कार्तिक १६ गते करारमा रहेका दुवै जना डाक्टरहरु पनि हिँडेसँगै जोमसोम अस्पताल चिकित्सकविहीन बनेको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयमा सचिवज्यूसँग कुरा भएको छ, उहाँले जति सक्यो चाँडो चिकित्सकको व्यवस्था गर्ने बताउनुभएको जानकारी दिनुभयो । प्रजिअ शर्माले भन्नुभयो–चिसो ठाउँमा बिरामीहरु कुन समय कस्ता प्रकृतिका आउँछन् पत्तै नहुने त्यही अस्पतालमा डाक्टर नै नहुँदा निकै कठिन भएकोले स्वास्थ्य चौकीका अहेबलाई काज तानेर दैनिक बिरामी चेकजाँचको व्यवस्था मिलाइएको छ ।
जोमसोम अस्पतालमा करारमा कार्यरत डाक्टर ऋषव खनाल र साजन बरालको करार अवधि असोजमा सकिएको भए पनि उहाँहरु अस्पतालबाट १६ कार्तिकमा गइसक्नु भएको कारण पनि अहिले बिरामी जाँच देखि लिएर अन्य सेवा प्रदानमा जोमसोम अस्पतालमा निकै कठीन भएको छ ।
हाल डाक्टरहरु नहुँदा घरपझोङ गाउँपालिकाको मार्फा स्वास्थ्य चौकीमा कार्यरत अहेब अर्जुन किसानलाई अस्पतालमा ल्याएर कामकाज चलाउने काम भएको अस्पतालले जनाएको छ ।
१५ शैयाको मुस्ताङको जोमसोम अस्पताल पछिल्लो एक हप्ता देखि चिकित्सक विहिन बनेपछि मुस्ताङका बिरामीको उपचारमा समस्या परेको छ । अहिले जिल्ला अस्पतालले आफ्नो सेवा सञ्चालन गर्नका लागि स्वास्थ्य चौकीबाट अहेब ल्याएर सेवा दिन परेको मुस्ताङका प्रजिअ पौडेलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?