logo
२०८० चैत्र १५ बिहीवार



चिसाेयाममा पनि काठमाडौंमा डेंगुका बिरामी बढ्दै

स्वास्थ्य |
खुला |


चिसाेयाममा पनि काठमाडौंमा डेंगुका बिरामी बढ्दै


काठमाडौं, कात्तिक २६ गते । काठमाडौंको मैतीदेवी–घट्टेकुलो आसपासमा डेंगुका बिरामी बढ्दै गएका छन् । गर्मी याममा तराईमा देखिने डेंगु यसपालि चिसो मौसममै काठमाडौंमा देखिएको छ । डेंगु रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्छ ।

असोजबाट यस क्षेत्रमा देखिएका डेंगुका बिरामी हालसम्म २३० जना पुगिसकेका छन् । काठमाडौं महानगर शहरी स्वास्थ्य क्लिनिक इन्चार्ज सुनीता बोहाेराका अनुसार असोजदेखि देखिएको डेंगुका बिरामीको सङ्ख्या २९ र ३० वडामा २३० जना पुगिसकेको बताउनुभएको छ । तर त्यसमध्ये ७५ प्रतिशत बिरामी निको भैसकेको उहाँले बताउनुभयो ।

विशेषगरी मैतीदेवी क्षेत्रमा तरकारी बेच्नका लागि राख्ने र नजिकै खोला पनि भएकाले उक्त क्षेत्रमा डेंगु बढी देखिएको उहाँको भनाइ छ । यसपपालि पछिसम्म पानी परिरहेको र पानी सङ्कलन गरेर धेरै बेर राख्नाले पनि जोखिम निम्तिएको उहाँ बताउनुहुन्छ । ‘मैतीदेवी क्षेत्रमा तरकारी बेच्नका लागि राख्ने र नजिकै खोला पनि छ । त्यही खोलामा लामखुट्टेले फुल पार्दछ र तरकारी बजारतिर लामखुट्टे जाने र टोक्ने भएकाले त्यो क्षेत्र बढी जोखिममा छ,’ बोहोराले भन्नुभयो ।

डेंगु फैलिएका यी क्षेत्रमा रोकथाम गर्न स्वास्थ्य मन्त्रालय र महानगरबीच पनि छलफल भएको छ । बिहीबार मन्त्रालयका पदाधिकारी र महानगरले डेंगु नियन्त्रण गर्न मैतीदेवी, घट्टेकुलो क्षेत्रका सबै घरमा गएर घरमाथि रहेका ट्याङकीहरुमा अध्ययन गर्ने योजना बनाएको बाेहोराले बताउनुभएको छ । यी क्षेत्रमा पानीको अभाव भएकाले पानी धेरै समय सङ्कलन गरेर राख्ने भएकाले लामखुट्टेले फुल पार्न सजिलो हुने र यसबाट पनि डेंगु फैलिएकाले यस्तो निर्णय गरिएको बोहोरा बताउनुहुन्छ ।

यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर अनुप बास्तोलाले पनि काठमाडौंमै डेंगुका बिरामी बढी देखिएको बताउनुभएको छ । अन्य जिल्लाहरुमा यसपालि डेंगुका विरामी खासै नदेखिए पनि काठमाडौंका मैतीदेवी–घट्टेकुलो आसपासका मानिसमा डेंगु सङ्क्रमण देखिएको उहाँ स्वीकार्नुहुन्छ ।

काठमाडौँमा चिसो बढेकाले डेंगुले महामारीको रूप नलिने डा. बास्तोलाको अनुमान छ ।

उहाँका अनुसार यसको विशेष औषधि हुँदैन। लक्षणका आधारमा उपचार गर्नुपर्ने हुन्छ। डेंगु सङ्क्रमण भएको अवस्थामा सङ्क्रमितमध्ये एक प्रतिशत व्यक्तिको मृत्युको जोखिम हुने बास्तोला बताउनुहुन्छ । समयमै पहिचान भए मृत्युबाट बच्न सकिन्छ । ज्वरो आउने, टाउको दुख्ने, शरीरमा मसिना बिमिरा आउने, शरीरको पछाडिको भाग दुख्नेलगायतका लक्षण देखिएमा स्वास्थ्य परीक्षण गराउनुपर्ने उहाँको सुझाव छ ।

पहिलो डेंगुको सेरोटाइपभन्दा फरक सेरोटाइपले पुनः सङ्क्रमण गरेको भए सङ्क्रमितमा डेंगु झन् कडा हुने अनुसन्धानहरुबाट प्रमाणित भइसकेकाले विशेष ख्याल गर्न बास्तोलाको आग्रह छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?