गोरखापत्र समाचारदाता
काठमाडौ, पुस १० गते । अति विपन्न समुदायको निःशुल्क र विपन्न नागरिकको सरकारी अस्पतालमा लाग्ने खर्चभन्दा कम शुल्कमा मिर्गौला, पत्थरीको शल्यक्रिया गर्न पाइने भएको छ । युरोलोजिष्ट डा.सञ्जय खड्गीले अति विपन्न परिवारका सदस्यको नि:शुल्क रुपमा र पिपन्न परिवारको सरकारी अस्पतालमा लाग्ने खर्चमै आफूले मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्ने जानकारी दिनुभयो ।
डा. खड्कीले १६ वर्षमा १२ हजार बिरामीको पत्थरीको शल्यक्रिया गरिसकेको बताउनुभयो । खड्गी इन्स्टिच्युट अफ इण्डोयुरोलोजी कुपण्डोल ललितपुरमा डा. खड्गीले हरेक दिन चार जना विपन्न विरामीलाई सरकारी सेवा सुविधामा मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्ने घोषणा गर्नुभएको छ ।
डा. खड्गीले अत्याधुनिक प्रविधिको प्रयोग गरी सहुलियत दरमा उपचार गर्ने घोषणा गर्दै हुनेसँग लिने र नहुनेलाई निशुल्क तथा सहुलियतमा शल्यक्रिया गर्न लागेको जानकारी दिनुभयो । मेरो खास उद्देश्य भनेकै उपचारमा पहुँच नभएका बिरामीहरुको लागि स्वास्थ्य सेवा दिनु हो, डा.खड्कीले भन्नुभयो, “कोही विपन्न परिवार छन् भने दैनिक चार जना सम्मको सरकारी अस्पतालले लिने शुल्कमै सम्पूर्ण शल्यक्रिया गर्नेछु ।”
डा. खड्गीले हाललाई मिर्गौलाको पत्थरीको मात्र शल्यक्रिया गर्ने जानकारी दिदै क्रमिक रुपमा प्रोटेस्ट लगायत युरोलोजी सम्बन्धी सबै रोगको सहुलियतमा शल्यक्रिया गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । पत्थरीको शल्यक्रिया सर्जरीमा हरेक दिन चार जनाको उपचार वीर अस्पतालकै दररेटमा गरिने उहाँले बताउनुभयो ।
मैले शल्यक्रियासहित अन्य सबै औषधि समेतको शुल्क गरी २० हजार रुपैयामा शल्यक्रिया गर्ने घोषणा गरेको छँु, डा.खड्गीले भन्नुभयो, “वीर अस्पतालमा शल्यक्रिया गर्दा पनि सबै औषधिसहित यो भन्दा बढी खर्च लाग्छ ।”
मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्दा अन्य नीजि अस्पतालमा दुई लाख देखि दुई लाख ५० हजार रुपियाँसम्म लाग्ने गर्छ । डा. खड्गीले आफूले ८० हजार शुल्क लिने बताउनुभयो ।