अमरराज नहर्की
तनहुँ, पुस १६ गते । तनहुँका विद्यालयहरुमा सञ्चालन गरिएको कोरोनाविरुद्धको मोडर्ना खोप अभियानमा ११ प्रतिशत विद्यार्थीले खोप लगाएका छैनन् । १२ वर्षदेखि १७ वर्ष उमेरसम्मका विद्यार्थीलाई दिइएको खोप अभियानमा ८९ प्रतिशत विद्यार्थी मात्रै सहभागी भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
सो उमेर समूहका विद्यार्थीहरु जिल्लाको १० स्थानीय तहमा गरी ३६ हजार ९५५ जनाको तथ्याङ्क सङ्कलन गरिएको थियो । विद्यालयहरुले नै उपलब्ध गराएको तथ्याङ्क अनुसार नै खोप अभियान चले पनि अभियानमा ३२ हजार ८४४ जना विद्यार्थी मात्र सहभागी भएको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी शङ्करबाबु अधिकारीले बताउनुभयो । ‘‘बालबालिकाहरु खोप लगाउन डराएकाले सबैलाई लगाउने भनिए पनि छुटेका हुन्’’ अधिकारीले भन्नभयो । उहाँले अभियानले तोकिएका उमेर समूहका सबै विद्यार्थीलाई समेट्न प्रयास गरे पनि विद्यालयले दिएको तथ्याङ्कमा त्रुटि रहेको बताउनुभयो ।‘
अधिकारीले खोप अभियानमा छुट भएका विद्यार्थीले तत्काल सम्पर्क राखे खोप उपलब्ध गराइने अन्यथा छुट हुनसक्ने बताउनुभयो । छुटेका विद्यार्थीले अन्य जिल्लाको अभियानमा सहभागी भए पनि खोप लगाउन सक्ने उहाँले जनाउनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तनहुँमा १६ हजार ६६३ जना छात्रा र १६ हजार १८१ जना छात्रले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियानमा सहभागी भएका विद्यार्थीलाई चार हप्तापछि दोस्रो मात्राको खोप प्रदान गरिने कार्यालयले जनाएको छ ।
सरकारले ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकाका लागि पुस ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा मोडर्ना खोप अभियान सञ्चालन गरेको छ । खोपहरू पूर्णरूपमा सुरक्षित रहेकाले निर्धक्क भई बालबालिकालाई खोप लगाउन प्रेरित गर्न सरकारले आग्रह गरेको छ । मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । सरकारले यसअघि खोप लगाउन छुटेका सबै नागरिकलाई खोप लगाउन अनुरोध गरेको छ ।