logo
२०८१ बैशाख १५ शनिवार



नियमित परीक्षण नै क्यान्सरको रोकथाम

स्वास्थ्य |
मुख्य समाचार |


नियमित परीक्षण नै क्यान्सरको रोकथाम


काठमाडौँ, माघ २२ गते । प्रमिता खनाल आफ्नो स्वास्थ्यप्रति ख्याल गर्नुहुन्छ । समय–समयमा उहाँ पूर्ण शरीर (होलबडी) स्वास्थ्य परीक्षण पनि गराउनुहुन्छ । कारण हो ११ वर्षअघि उहाँलाई भएको स्तन क्यान्सर । त्यसबेला क्यान्सरको उपचार अहिलेजस्तो सहज थिएन । शल्यक्रिया, किमोथेरापी र रेडियोथेरापी बेग्लाबेग्लै अस्पतालमा गर्नुपथ्र्यो । त्यसले पनि क्यान्सर पत्ता लगेपछि प्रमितालाई थप चिन्ता लागेको थियो । मरिने हो कि बाँचिने हो ? मरियो भने घरपरिवार र बालबच्चाको अवस्था के हुने हो ? भन्ने जस्ता कुराले तनाव बढी थियो । परिवारका सदस्यले भारतमा गएर उपचार गर्न सल्लाह दिएको भए पनि उहाँले नेपालमै उपचार गर्छु भनेर अडान लिनुभयो । उहाँको शल्यक्रिया त्रिवि शिक्षण अस्पतालमा डा. अरुण सायमीले गर्नुभयो । सफल पनि भयो ।

क्यान्सर जित्नेबित्तिकै प्रमिताले क्यान्सरसम्बन्धी जनचेतना जगाउन अस्पताल–अस्पताल गएर क्यान्सरका रोगीलाई काउन्सिलिङ गर्न थाल्नुभयो । क्यान्सर रोग विशेषज्ञहरूको सल्लाहमा पाँच वर्षअघिदेखि नेपाल क्यान्सर सर्भाइभल सोसाइटी नामक संस्था खोलेर त्यही संस्थामार्फत जनचेतना जगाउन थाल्नुभयो । पहिले त स्तन क्यान्सरमा मात्र केन्द्रित प्रमिता अहिले सबै खालका क्यान्सरसम्बन्धी जनचेतना जगाउने कार्यमा सक्रिय हुनुहुन्छ । उहाँले नेतृत्व गरेको संस्थाको नेतृत्वमा सबै महिला छन् । उहाँहरूले देशका कुनाकुनामा क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर, क्यान्सर जनचेतनामूलक काम, अन्तक्र्रिया, अस्पतालमा गएर बिरामीसँग छलफल र काउन्सिलिङ गरिरहनुभएको छ । नेपालमा क्यान्सर रोगको उपचार महँगो भएकाले स्वास्थ्य बीमालाई बढाएर सरकारले क्यान्सरको उपचारमा थप लगानी बढाउनुपर्ने प्रतिमा बताउनुहुन्छ । अहिले सरकारले दिइरहेको एक लाख रुपियाँले क्यान्सर रोगीलाई औषधिसमेत किन्न नपुग्ने उहाँको धारणा छ ।

यस्तो हुँदाहुँदै पनि क्यान्सरबारे लापरबाही अहिले पनि व्यापक छ । उदाहरण हुनुहुन्छ– नेत्रबहादुर हमाल । फोक्सोको क्यान्सरसँग जुधिरहनुभएका उहाँले गत वर्ष फागुनमा काठमाडौँ अस्पतालमा परीक्षण गराउँदा सुरुमा चिकित्सकले केही छैन भनेर औषधि लेखिदिए । तर बिसेक नभएपछि बन्दाबन्दीमा पनि सानेपास्थित स्टार अस्पताल पुग्नुभयो । त्यहाँ पनि वृद्ध अवस्था यस्तै हुन्छ भनेर क्याल्सियम लेखेर पठाइदियो । पछि अन्नपूर्ण न्युरो अस्पतालमा परीक्षण गर्दा क्यान्सर पत्ता लागेपछि भक्तपुर क्यान्सर अस्पतालमा गएर १० पटक रेडियोथेरापी गर्नुभयो । अहिले पाटन अस्पतालमा नियमित फलोअपमा हुनुहुन्छ । अहिले क्यान्सरको औषधि सेवन गरिरहनुभएको छ । उहाँले हालसम्म उपचारमै १२ लाख रुपियाँ खर्च भइसकेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?