logo
२०८१ बैशाख १७ सोमवार



फरक समूहको रगत दिँदा बिरामी अग्रवालको मृत्यु

स्वास्थ्य |
खुला |
प्रदेश |


फरक समूहको रगत दिँदा बिरामी अग्रवालको मृत्यु


हरिप्रसाद कोइराला
उर्लाबारी, फागुन १६ गते । लगातार खोकी लागेपछि उपचारार्थ उर्लाबारीस्थित गोदावरी हस्पिटल भर्ना हुनुभएका उर्लाबारी –६ का अनिल अग्रवाललाई फरक रक्त समूहको रगत दिंदा उहाँको मृत्यु भएको छ । फरक समूहको रगत शरीरमा चढाएपछि मृत्यु भएको अस्पतालले जनाएको छ । माघ ६ गते अस्पताल भर्ना भएका अग्रवालको माघ २६ गते उपचारका क्रममा मृत्यु भएको हो ।

सामान्य बिरामी भएर अस्पताल भर्ना हुनुभएका ४५ वर्षीय अग्रवालको मृत्यु भएपछि अस्पताल प्रशासन र पीडित अग्रवाल परिवारबीच आर्थिक लेनदेनमा सहमति खोज्ने प्रयास भएको पीडित पक्षको आरोप छ । पीडित परिवारले ५० लाख रुपियाँ क्षतिपूर्ति मागेको थियो । तत्काल अस्पतालको प्रतिष्ठा गुम्न नदिन अस्पताल प्रशासनले ५० लाख रुपियाँ तिर्न सहमति जनाएको पीडित परिवारका नातेदार दिलीपकुमार अग्रवालले बताउनुभयो ।

मृत्यु भएको २० दिन बितिसक्दा पनि अस्पतालले क्षतिपूर्ति दिन नमानेपछि पीडितहरू कानुनी उपचारको खोजीमा लागेको बताएका छन् । पीडित परिवारलाई अस्पतालले ५० लाख तिर्न नसक्ने जनाएको छ । अग्रवाल परिवारका एक सदस्यले भन्नुभयो– “अहिले अस्पताल प्रशासन कानुनले जे भन्छ , त्यो सहन र भोग्न तयार छ भनिरहेको छ ।”

अस्पतालका चिकित्सकले बिरामीको रगत समूह ‘ए पोजेटिभ’ भएको जान्दाजान्दै ‘बी पोजेटिभ रगत सिफारिस गर्नु नै ठूलो त्रुटि भएको बताइएको छ । डाक्टरले फरक समूहको रगत चलाएर बिरामीको मृत्यु हुने घटनालाई सामान्य रुपमा लिन नसकिने अनिलका दाजु राजेश अग्रवालले बताउनुभयो । उपचारकै क्रममा बिमारीलाई रगत आवश्यक भएको जनाउँदै गोदावरी अस्पतालले उर्लाबारी मङ्गलबारेस्थित मदन भण्डारी अस्पतालको रक्तसञ्चार केन्द्रमा रगत सिफारिस गरिदिएको थियो ।

मदन भण्डारी रक्तसञ्चार सेवाले समेत ए पोजेटिभका बिरामीलाई बी पोजेटिभको रगत दिएको राजेशले बताउनुभयो । “थप रगत आवश्यक परेका बेला उर्लाबारीमा रगत थिएन, हामी दमक रेडक्रस गयौं, त्यहाँ पेपर हेर्दा बी पोजेटिभ रगत मागिएको देखेपछि हामीले जानकारी पाएका हौं” राजेशले भन्नुभयो ।
अस्पतालको लापरबाही भएको खुलेपछि पनि अस्पताल सञ्चालक डा. शिवनारायण साहले नआत्तिन आग्रह गर्नुभएको उहाँको भनाइ छ । दोस्रो पटक बी पोजेटिभ रगत चढाएलगत्तै अनिलको मृत्युु भएको परिवारका सदस्यहरूले बताउनुभयो । अस्पताल सञ्चालक डा. सूर्यनारायण साहले गल्ती स्वीकार्नुभएको छ । उहाँले भन्नुभयो– “फोक्सो काम नलाग्ने अवस्थामा थियो । निमोनियाले बिरामीलाई समस्यामा पारेको थियो ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?