बेलिना थापा
लमजुङ, चैत १४ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा सामुदायिक स्वास्थ्य परीक्षण कार्यक्रम सुरु भएको छ । मर्स्यांदी गाउँपालिका वडा नं. ७ बाट सामुदायिक स्वास्थ्य परीक्षण कार्यक्रम सुरु भएको हो ।
वडा कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सामुदायिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो । स्वस्थ जीवनयापनका लागि स्वास्थ्य प्रवर्धन अभियान अन्तर्गत सुरु गरिएको सामुदायिक स्वास्थ्य कार्यक्रममार्फत नसर्ने रोग तथा दीर्घरोगको पहिचान गरिने वडा कार्यालयले जनाएको छ ।
उक्त कार्यक्रमको आइतबार शुभारम्भ गर्दै मर्स्यांदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुभयो । यस कार्यक्रममार्फत समयमै रोग पहिचान हुने र उपचारमा सहज हुने बताउनुभयो ।
कार्यक्रममार्फत गाउँपालिकाभित्र रहेका दीर्घरोगीको तथ्याङ्क निकाल्न सहज हुने र गाउँपालिकाले सोही अनुसार नीति तथा कार्यक्रम निर्माण गर्न सकिने बताउनुभयो । यस अभियानमा सबैलाई सहभागी हुन अध्यक्ष गुरुङले अनुरोध गर्नुभएको छ ।
उक्त अभियान चैत २४ गतेसम्म सञ्चालन हुने वडा नं. ७ का अध्यक्ष युवा घलेले बताउनुभयो । अभियानको पहिलो दिन वडाको ताङ्लीचोक, तराञ्चे, उस्ताबेंसी र ङादीमा गरि १ सय ६४ जनामा स्क्रिनिङ गरिएको उहाँले बताउनुभयो । ५ वर्षमाथिका सवै नागरिकलाई सेवा प्रदान गर्ने लक्ष्य रहेको घलेले बताउनुभयो ।
कार्यक्रम अन्तर्गत सुगर, ब्लड प्रेसर, पिसाब परीक्षण, उमेर अनुसारको उचाइ र तौल भए÷नभएको परीक्षण गरिने भुलभुले स्वास्थ्य चौकीका इन्चार्ज आशिष परियारले बताउनुभयो । यसले गर्दा दीर्घ तथा नसर्ने रोगको पहिचान हुने र समयमै उपचारमा सहज हुने बताउनुभयो ।
वडाभित्रको सबै टोलमा र विद्यालयमा पुगेर स्क्रिनिङ गरिने बताउनुभयो । अभियानमा भुलभुले स्वास्थ्य चौकीका इन्चार्ज आशिष परियारसहित ६ जना स्वास्थ्यकर्मीको टोली परिचालित भएको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका स्वकिय सचिव सरोज गुरुङले बताउनुभयो ।
कार्यक्रममा वडा नं. ८ का अध्यक्ष हीरादेवी घले गुरुङ, कार्यपालिका सदस्य चितरी तामाङ, डा. हर्क गुरुङ प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङलगायतको उपस्थिति थियो ।