logo
२०८१ असोज ४ शुक्रवार



बुर्किना फासोमा १८ जना सर्वसाधारणको हत्या

अन्तर्राष्ट्रिय |


बुर्किना फासोमा १८ जना सर्वसाधारणको हत्या


बुर्किना फासो, माघ २० गते । अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी क्षेत्रमा कट्टरपन्थी मुस्लिम लडाकूहरुले आक्रमण गरी १८ जना सर्वसाधारणको हत्या गरेको साहेल क्षेत्रका गभर्नरको कार्यालयले जनाएको छ ।
कर्णेल साल्फो काबोरले हत्या गरिएका व्यक्तिको शव नियन्त्रणमा लिइएको बताउँदै सरकारी सेनाले त्यस क्षेत्रमा सैनिक कारबाही शुरु गरेको जानकारी दिनुभयो ।
मुलुकको उत्तरी क्षेत्रमा गत साता पनि धेरैवटा आक्रमण गरिएका थिए । जनवरी २५ मा गरिएको त्यस्तै आक्रमणमा उत्तरी सोउम प्रान्तमा ३९ जनाको मृत्यु भएको थियो । सुरक्षा स्रोतले एएफपीलाई बताए अनुसार जिहादी समूहले केही दिनअघि मात्र स्थानीयबासीलाई घरगाउँ छाडेर भाग्न चेतावनी दिएका थिए । सुरक्षा फौजले उक्त क्षेत्रलाई सुरक्षित राख्न दिनरात कार्य गरेको बताए पनि ठूलो क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन कठिन भएको जनाएको छ । बुर्किना फासोको उत्तर पश्चिममा माली रहेको छ भने पूर्वमा नाइजर रहेको छ । यी दुबै मुलुक मुस्लिम जिहादी लडाकूका कारण संकटमा रहेका छन् ।
कमजोर हातहतियार र तालिम अभावमा बुर्किना फासोको सुरक्षा फौजले लडाकूहरुबाट हुने गरेका घातक आक्रमणलाई नियन्त्रणमा ल्याउन सकेको छैन । फ्रान्सेली समेतका केही मुलुकबाट सैनिक सहयोग प्राप्त गरे पनि सरकारी सेनाको जिहादीसँग लड्ने क्षमताको अभाव रहेको छ । संयुक्तराष्ट्र संघका अनुसार माली, नाइजर र बुर्किना फासोमा सन् २०१९ मा मात्र जिहादी समूहले गरेको आक्रमणमा चार हजारको ज्यान गइसकेको छ । करिब ६ लाख नागरिक बिस्थापित भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?