logo
२०८१ असोज ६ आईतवार



विकिलिक्सका संस्थापक असान्जका दुई सन्तान, इक्वेडरको दूतावासमै जन्मिए   

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


विकिलिक्सका संस्थापक असान्जका दुई सन्तान, इक्वेडरको दूतावासमै जन्मिए   


लन्डन, चैत ३० गते । बेलायतको राजधानी लन्डनस्थित इक्वेडरको राजदूतावासमा आश्रय लिएकै अवस्थामा विकिलिक्सका संस्थापक जुलियन असान्जका दुई बच्चा जन्मिएको आइतबार बेलायतको एक अखबारले जनाएको छ ।    
    
अमेरिकी गोप्य सूचनाहरु जासुसी गरेको आरोपमा हाल लन्डनको जेलमा रहेका असान्जकी वकील स्टेला मोरिसबाट जन्मिएका ती बच्चाहरु अहिले दुई र एक वर्षका छन् ।        
बेलायतको अखबार मेलले आइतबार असान्जसँगै दुई बच्चाको फोटो सहित मोरिसको अन्तर्वार्ता प्रकाशन गरेको छ । मोरिसले आफूहरुले चाँडै विवाह गर्ने योजना बनाएको बताउनु भएको छ ।    
    
असान्ज अहिले बेलायतको बेल्मार्शस्थित उच्च सुरक्षा व्यवस्था सहितको जेलमा बन्दी हुनुहुन्छ । जासुसी गरेको आरोपमा संयुक्तराज्य अमेरिकाले बेलायत समक्ष असान्जलाई सुपुर्दगी गर्न माग गरिरहेको छ । तर अदालती सुनुवाईको प्रक्रिया जारी रहेकाले सुपुर्दगीको विषय टुंगो लागिसकेको छैन ।    
    
असान्जकी वकिल मोरिसले असान्जको जीवन जोखिमपूर्ण अवस्थामा रहेको बताउँदै कोरोनाभाइरसका कारण बेल्मार्श जेल पनि सुरक्षित नरहेकाले तत्काल रिहा गर्न आग्रह गर्नु भएको छ ।    
    
बेलायत सरकारले कोरोनाभाइरसको संक्रमणको खतरा रहेको बताउँदै केही बन्दीलाई अस्थायी रुपमा रिहा गर्ने योजना बनाइरहेको छ । तर असान्जलाई राखिएको बेल्मार्शमा उच्च सुरक्षा प्रबन्ध रहेको भन्दै बेलायत सरकारले असान्जलाई छाड्न गरिएको अनुरोधलाई अस्वीकार गरेको मोरिसले बताउनुभयो ।    
    
अफगानिस्तान र इराकमा अमेरिकी सैनिक आक्रमणका गोप्य सूचना एवं विद्युतीय फाइलहरु सन् २०१० मा विकिलिक्सबाट सार्वजनिक गरिएपछि असान्जमाथि अमेरिकी प्रतिजासुसी ऐन बमोजिम मुद्दा चलाइएको छ । अमेरिकाले पक्राउ गर्ने र आफ्नो जीवन नै जोखिममा रहेको भन्दै उहाँले सन् २०१२ मा लन्डनस्थित इक्वेडरको राजदूतावासमा आश्रय लिनुभएको थियो, तर गत वर्ष उहाँलाई लन्डन प्रहरीले पक्राउ गरेको थियो ।    
    
इक्वेडरको राजदूतावासमा असान्जले झण्डै एक आठ वर्ष बिताउनु भएको थियो ।    
    
कानुनी सल्लाह एवं परामर्शका निम्ति असान्जलाई भेट्न मोरिस पटकपटक उक्त दूतावास जानु भएको पनि मेलले प्रकाशन गरेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?