logo
२०८१ बैशाख ६ बिहीवार



मुल्लाह उमरका छोरा तालिबान समूहको नेतृत्वमा

अन्तर्राष्ट्रिय |


मुल्लाह उमरका छोरा तालिबान समूहको नेतृत्वमा


काबुल, जेठ १९ गते । अफगानिस्तान तालिबान समूहका संस्थापक मुल्लाह ओमरका छोरा मुल्लाह याकूबले तालिबान समूहको नेतृत्व सम्हाल्नु भएको छ । समूहका नेताहरूबीच नेतृत्वको विषयलाई लिएर सहमति जुट्न नसकेपछि याकूबलाई अन्तरिम नेतृत्व हस्तान्तरण गरिएको हो । अफगान स्रोतका अनुसार तालिबानका कतिपय वरिष्ठ सदस्यहरू कोरोनाभाइरसका कारण बिरामी परेका कारणले पनि याकूबलाई नेतृत्व दिइएको हो ।
अफगानिस्तानका पूर्व राष्ट्रिय गुप्तचर विभागका प्रमुख रहमतुल्लाह नबिलले हाल मुल्लाह याकूबले तालिबान आन्दोलनको नेतृत्व गरिरहनुभएको दाबी गर्नुभएको छ । उहाँले समूहको कतारको दोहास्थित कार्यालयका कतिपय सदस्यहरू कोरोनाभाइरस सङ्क्रमित भएका र उनीहरू पाकिस्तान फर्किएको पनि बताउनुभयो ।
गत फेब्रुअरीमा तालिबानसँग अमेरिकाले गरेको सम्झौताको कार्यान्वयन तथा अफगान सरकारसँगको वार्ताको महत्वपूर्ण क्षणमै तालिबान समूहको नेतृत्वमा सङ्कट उत्पन्न भएको छ ।
तालिबान समूहको उच्च नेतृत्वमा कुनै किसिमको विभाजन र असहमति देखा परे कमजोर अफगान शान्तिवार्ता नै धरापमा पर्न सक्ने आँकलन गरिएको छ । अमेरिकाले तालिबानसँगको सम्झौता बमोजिम आफ्ना सैनिक फिर्ता गर्न थालको भए पनि तालिबान र अफगान सरकारबीच शान्तिवार्ता शुरु हुन सकेको छैन ।
विदेशी समाचार संस्थाका अनुसार ओमरका मुख्य सहयोगी एवम् महत्वपूर्ण तालिबान नेता हैबातुल्लाह अखुनजादा केही हप्तादेखि कुनै पनि बैठकहरूमा देखा पर्नुभएको छैन । उहाँको स्थानमा हक्कानी नेटवर्कका सिराजुद्दीन हक्कानीले गरिरहनुभएको छ । यो समूहको सम्बन्ध पाकिस्तानस्थित इस्लामिक स्टेटको अलकायदा समूहसँग सम्पर्क रहेको मानिन्छ ।
इस्लामिक स्टेटको चाहना तालिबानसँग हक्कानी नेटवर्कको सम्पर्क टुटाएर पुनः अतिवादी जिहादी क्रियाकलाप शुरु गर्नु हो । नबिलका अनुसार तालिबानको राजनीतिक कार्यालयमा परिवर्तन हुनेक्रम जारी रहेको छ ।
पछिल्लो समय मुल्लाह याकूब पनि तालिबानको शीर्ष नेतृत्व सम्हाल्ने गरी तयारी गरिरहनुभएको थियो । उहाँका बुबा मुल्लाह ओमरको सन् २०१५ मा निधन भएको थियो । याकूबलाई सन् २०१६ मा अफगानिस्तानका ३४ मध्ये १५ वटा प्रान्तको सैनिक आयोगको नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो ।
तालिबान समूहले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासनसत्ता सम्हालेको थियो । तर सन् २००१ मा अफगानिस्तानमा लुकेर बसेका ओसामा बिन लादेनले अमेरिकामा भीषण हमला गरेपछि प्रतिशोधमा अफगानिस्तानमाथि अमेरिकाले आक्रमण गरी तालिबानलाई सत्ताच्यूत गरेको थियो ।
तालिबान समूहले त्यसयता अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाविरुद्ध सशस्त्र सङ्घर्ष गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?