logo
२०८१ बैशाख २३ आईतवार



आर्मेनियाका प्रधानमन्त्री कोरोनाभाइरसमुक्त, सुरक्षा प्रमुखहरू बर्खास्त

अन्तर्राष्ट्रिय |


आर्मेनियाका प्रधानमन्त्री कोरोनाभाइरसमुक्त, सुरक्षा प्रमुखहरू बर्खास्त


आर्मेनिया, जेठ २७ गते । कोरोनाभाइरसबाट सङ्क्रमित आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयान डिस्चार्ज हुनुभएको छ । एक साताअघि प्रधानमन्त्री पाशिनयान र उहाँको परिवारका सदस्यहरूमा कोविड–१९ पोजेटिभ देखिएको थियो ।
फेसबुकमा एक सन्देश लेख्दै प्रधानमन्त्री पाशिनयानले आफू र परिवारका सबै सदस्यको कोभिड–१९ को पछिल्लो परीक्षणमा नेगेटिभ देखिएको बताउनुभएको छ । सोमबार बिहानसम्म आर्मेनियामा १३ हजार ३२५ जना कोरोनाभाइरसबाट सङ्क्रमित देखिएका थिए जसमध्ये २११ जनाको मृत्यु भएको छ ।
कोभिड–१९ महामारी फैलिएसँगै आर्मेनिया सरकारले जारी गरेको आपतकालीन स्थिति आगामी जुन १३ तारिखसम्म रहने छ । यसैबीच, प्रधानमन्त्री पाशिनयानले मुलुकका तीनै सुरक्षा प्रमुखहरूलाई कोरोना सङ्क्रमण नियन्त्रणमा प्रभावकारी कार्य गर्न नसकेको आरोप लगाउँदै पदबाट बर्खास्त गर्नुभएको छ ।
बर्खास्तगीमा परेकाहरूमा सेना, प्रहरी र राष्ट्रिय सुरक्षा सेवाका प्रमुखहरू रहेका छन् । तर प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूबाट के गल्ती भएको थियो भन्ने बारेमा केही बताउनुभएको छैन ।
स्थानीय अखबारले सेना प्रमुख आर्तक डाभत्यानले कोरोना सङ्क्रमणकै अवस्थामा आइतबार छोराको विवाह भोज गरेलगत्तै प्रधानमन्त्रीले सेना प्रमुखलाई बर्खास्त गर्नुभएको लेखेको छ । आर्मेनियामा ठूला भेला, भोजभतेर गर्न निषेध गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?