logo
२०८१ असोज ८ मंगलवार



जर्मन विदेश मन्त्री इजरायल भ्रमणमा, सम्बन्ध सुधारमा केन्द्रित

अन्तर्राष्ट्रिय |


जर्मन विदेश मन्त्री इजरायल भ्रमणमा, सम्बन्ध सुधारमा केन्द्रित


जेरुसलेम, जेठ २९ गते। जर्मन विदेश मन्त्री हेको मास बुधबार इजरायलको जेरुसलेम पुग्नु भएको छ । भ्रमणका अवसरमा मन्त्री मासले इजरायल अधीनस्थ पश्चिमी किनारामा इजरायली विवादास्पद जमिन कब्जा योजनाका सम्बन्धमा युरोपेली यूनियनका सदस्य राष्ट्रहरुका तर्फबाट “चासो” व्यक्ति गर्ने योजना छ ।
कोरोनाभाइरस महामारी भएयता इजरायलको भ्रमण गर्ने उहाँ युरोपेली राष्ट्रका पहिलो विशिष्ट व्यक्ति हुनुहुन्छ । इजरायली भूमिमा पदार्पण गर्दा मन्त्री मास र उहाँका इजरायली समकक्षी दुबैले अनुहारमा मास्क लगाउनु भएको थियो ।
दुबै नेताबीचको वार्ताको मुख्य विषय पश्चिमी किनारा र जोर्डन उपत्यकामा इजरायलको प्रस्तावित आवास विस्तारमा केन्द्रित हुनेछ । इजरायलले आगामी जुलाई १ तारिखबाट यहाँ बसोबास निर्माण गर्ने जनाएको छ । यही दिनदेखि युरोपेली युनियनको अध्यक्षता पनि जर्मनीले गर्नेछ ।
युरोपेली युनियनले इजरायली योजनाप्रति विमती राख्दै आएको छ तर इजरायली कदमको विरोध गर्ने सन्दर्भमा युरोपेली मुलुकबीच ऐक्यबद्ध धारणा छैन । इजरायलले भने जर्मन विदेश मन्त्री मार्फत् युरोपेली मुलुकहरुको इजरायलको कदममाथिका धारणामा नरमपना ल्याउने अवसरको रुपमा हेरेको छ ।
जर्मन विदेश मन्त्रालयले मध्यपूर्वको द्वन्द्व समाधानका सन्दर्भमा जर्मनी र यसका युरोपेली युनियनमा आबद्ध मुलुकहरुले इजरायली–अरब मुलुकहरुबीचको बहुपक्षीय वार्ता र प्यालेस्टिनीका लागि दुई–राष्ट्र समाधानमा जोड दिएको उल्लेख गरेको छ ।
मन्त्रालयले विदेश मन्त्री मासले इजरायल भ्रमणका अवसरमा इजरायल सरकारले घोषणा गरे बमोजिम अनेक्सेसनका सम्भावित परिणामका बारेमा युरोपेली मुलुकको सामूहिक चासो व्यक्त गर्नु हुने जनाएको छ । जर्मन विदेश मन्त्री मासले इजरायली विदेश मन्त्री गाबी आश्केनाजीसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र रक्षा मन्त्री बेन्नी गान्जसँग भेटघाट गर्नु हुनेछ ।
गत जनवरीमा अमेरिकाले सार्वजनिक गरेको शान्ति योजनाको एक अंशका रुपमा इजरायली कब्जाको रुपरेखा तयार पारेको जनाइएको छ । अमेरिकी योजनाले प्यालेस्टिनी राज्य निर्माण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
तर अमेरिकी प्रस्तावले पूर्वी जेरुसलेमलाई राजधानी बनाउने प्यालेस्टिनीको मुख्य मागलाई अस्वीकार गरेको छ । त्यही कारण प्यालेस्टिनी प्राधिकरणले अमेरिकी प्रस्तावलाई पहिल्यै अस्वीकार गरिसकेको छ ।
प्यालिस्टिनीहरुले सार्वभौम, स्वतन्त्र प्यालिस्टिनी मुलुक निर्माणका लागि अलग्गै प्रस्ताव तयार पारेर राष्ट्रसंघ, संयुक्तराज्य अमेरिका, युरोपेली युनियन र रसियालाई बुझाइसकेको प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद स्तायेले बताउनुभएको छ ।
उहाँले भन्नुभयो – हामी इजरायलले अन्तर्राष्ट्रिय दबाब महसुस गरेको बुझ्न चाहन्छौं । जर्मन विदेश मन्त्री मास इजरायलको भ्रमणपछि जोर्डन जानु हुनेछ ।
गत महिना जोर्डनका राजा अब्दुल्लाह द्वितीयले इजरायली कब्जाले इजरायल–जोर्डनबीच द्वन्द्व बढ्न सक्ने चेतावनी दिनुभएको थियो । जर्मनीले इजरायली कब्जा योजनाको विरोध गरिरहेको छ । तर युरोपेली युनियनले इजरायल विरुद्ध चालिने सम्भावित कदमको कुनै रुपरेखा तयार पारेको छैन ।
युरोपेली मुलुक र इजरायलबीच महत्वपूर्ण व्यापारिक साझेदारी रहेको छ । युरोपेली युनियनको विवरण अनुसार गत वर्ष ३४ अर्ब डलर बराबरको व्यापार भएको थियो ।
इजरायलले दक्षिण लेबनानबाट सन् १९७८ देखि २००० को बीचमा ठूलो क्षेत्र नियन्त्रणमा लिएको थियो भने सन् २००६ मा हेजबुल्लाह समूहसँग युद्ध लडेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?