logo
२०८१ जेष्ठ ६ आईतवार



कोरोना भाइरसबाट भारतमा एकैदिनमा एक हजारभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय |


कोरोना भाइरसबाट भारतमा एकैदिनमा एक हजारभन्दा बढीको मृत्यु


नयाँ दिल्ली
असार ३ गते । भारतमा पछिल्लो २४ घण्टाभित्र कोरोनाभाइरसबाट मृत्यु भएकाहरूको सङ्ख्या एक्कासि बढेको छ । अघिल्ला दिनहरूमा मृत्यु हुनेहरूको विवरण सयको सङ्ख्यामा आउने गरेकोमा बुधबार चार अक्षरमा आएको हो ।

भारतका स्वास्थ्य अधिकारीहरूले बुधबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको सङ्ख्या २ हजार ३ रहेको छ । पछिल्लो केही दिनमा मृत्यु भएपनि कोरोनाको पुष्टिपछि मात्रै भएकोले नयाँ दिल्लीसहित अन्य राज्यका छुटेका मृतकको सङ्ख्या थप गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ । अघिल्लो दिन मङ्गलबार बिहान उक्त मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा ३८० जनाको मृत्यु भएको थियो । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या ११ हजार ९०३ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९७४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ५४ हजार ६५ पुगेको अधिकारीहरूले जनाएका छन् ।

स्वास्थ्य अधिकारीहरूका अनुसार भारतमा अहिले पनि एक लाख ५५ हजार २२७ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु एक लाख ८६ हजार ३९५ जना सङ्क्रमणमुक्त भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोनाभाइरसका कारण मृतकको सङ्ख्या एक्कासी बढेकोप्रति चिन्ता व्यक्त गरेको छ ।

भारतमा प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै सङ्क्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । यस प्रदेशमा अहिलेसम्म एक लाख १३ हजार ४४५ जना सङ्क्रमित भएको अधिकारीहरूले जनाएका छन् । तीमध्ये कुल ५० हजार ५७ जना अझै सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ५७ हजार ८५१ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी, दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा ४८ हजार १९ जना रहेका छन् । राजधानी रहेको दिल्ली प्रदेशमा ४४ हजार ६८८ जना सङ्क्रमित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?