logo
२०८१ असोज ९ बुधवार



‘पश्चिमी मुलुकलाई तालिबान समूहबाट खतरा नहुने’

अन्तर्राष्ट्रिय |


‘पश्चिमी मुलुकलाई तालिबान समूहबाट खतरा नहुने’


काबुल, असार ५ गते । तालिबानसँग अमेरिकी प्रतिनिधिले गरेको सम्झौता कार्यान्वयनमा आशङ्का नगर्न तालिबानी नेताहरूले आग्रह गरेका छन् । अमेरिकाले अफगानिस्ताबाट आफ्नो सैनिकलाई हटाउने निर्णयसँगै कतिपय पश्चिमी मुलुकहरूले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) सैनिकको अनुपस्थितिमा तालिबानहरूले आफ्नो गतिविधि युराेप तथा अमेरिकी मुलुकहरूविरूद्ध सञ्चालन त गर्ने होइनन् भन्दै व्यक्त गरिएका आशङ्काको शुक्रबार तालिबान समूहले खण्डन गरेको छ ।
अमेरिकी सेनाको उच्च अधिकारी जनरल केनिथ म्याककेन्जीले सम्झौतामा गरिएका शर्तलाई पूर्णरूपमा पालना भए नभएको हेरेर यस वर्ष करिब आठ हजार ६०० नेटो सैनिक फिर्ता गरिने र सबै शर्त पालना भएको पाइएमा बाँकी सबै सैनिकलाई अर्को वर्षसम्ममा फिर्ता लग्ने बताउनुभयो । यसैबीच तालिबान समूहले फेब्रुअरीमा अमेरिकासँग भएको सम्झौतालाई पालना गर्ने विषयमा आफू कटिबद्ध रहेको बताउँदै यसमा खास गरी अमेरिका तथा अन्य पश्चिमी मुलुकहरूले शङ्का नगर्न भनेको छ ।
“हाम्रो मुलुक कसैको विरूद्धमा प्रयोग हुने छैन । यसमा उनीहरूले आशङ्का गर्नुपर्दैन,” तालिबान प्रवक्ता जिविहुला मुजाहिदले एएफपीसँग बताउनुभयो । फेब्रुअरीमा भएको सम्झौतामा करिब २० वर्ष पहिले अमेरिकामा भएको अल–कायदा आक्रमणपछि अफगानिस्तान पसेका अमेरिकी र अन्य विदेशी सैनिकलाई अफगानिस्तानबाट फकाउनुपर्ने र तालिबान समूहले शान्तिपूर्ण राजनीतिमा आउन अफगान सरकारसँग वार्ता गरी मूलधारको राजनीतिमा समाहित हुने प्रमुख शर्त रहेका छन् ।
तर पश्चिमी मुलुकहरूको पछिल्लो अध्ययन रिपोर्टमा तालिबान र इस्लामिक समूहबीच खासै निकटता नरहेपनि अलकायदासँग ‘निकट रहेको’ र अमेरिकासँगको सम्झौतामा पनि नियमित परामर्श गरेको भन्ने उल्लेख गरिएको छ ।
यही वर्षको नोभेम्बरमा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अर्को कार्यकालका लागि चुनाव लड्ने घोषणा गरेका डोनाल्ड ट्रम्पले पटकपटक अमेरिकी सैनिकलाई अफगानिस्तानबाट फिर्ता गर्ने विषयलाई दोहोर्याउँदै आउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?