logo
२०८१ असोज ९ बुधवार



इरानविरुद्ध हतियारमाथिको प्रतिबन्ध अवधि थप गर्न अमेरिकी प्रस्ताव

अन्तर्राष्ट्रिय |


इरानविरुद्ध हतियारमाथिको प्रतिबन्ध अवधि थप गर्न अमेरिकी प्रस्ताव


संयुक्तराष्ट्र सङ्घ, असार ९ गते।
संयुक्तराज्य अमेरिकाले इरानविरुद्ध लगाइएको हातहतियार खरिदमाथिको प्रतिबन्धको अवधि अरु थप गर्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदसमक्ष प्रस्ताव गरेको छ । अमेरिकाले सन् २०१९ मा साउदी अरेबियास्थित तेल प्रशोधन केन्द्रहरूमा भीषण हमला इरानले गरेको आरोप लगाउँदै उक्त घटनाका सम्बन्धमा इरानविरुद्ध निन्दा प्रस्ताव पनि गरेको छ ।

सन् २०१५ मा इरानसँग भएको आणविक कार्यक्रमसम्बन्धी सम्झौताबमोजिम इरानविरुद्ध हातहतियार खरिदबिक्री गर्न नपाउने गरी भएको प्रतिबन्ध आगामी अक्टोबरमा समाप्त हुँदैछ । तर अमेरिकाको मुख्य विपक्षीजस्तो देखिएको इरानमाथिको त्यो प्रतिबन्ध बढाउन अमेरिकाले प्रयास गरिरहेको छ । शुक्रबार, सन् २०१५ को आणविक सम्झौताका हस्ताक्षरकर्ता मुलुकहरू – फ्रान्स, बेलायत र जर्मनी – ले संयुक्त विज्ञप्ति प्रकाशन गरी इरानविरुद्धको प्रतिबन्ध फुकुवा गरिए क्षेत्रीय सुरक्षा र स्थिरतामा सङ्कट आउनसक्ने चेतावनी दिएका छन् । अमेरिकाको पछिल्लो प्रस्तावमा इरानद्वारा साउदी अरेबियामाथि सेप्टेम्बर २०१९ मा भएको आक्रमणको भर्त्सना गरिएको कुरा एएफपीलाई प्राप्त मस्यौदामा देखिएको छ । मस्यौदामा सुरक्षा परिषदले ३० दिनको सूचनाबमोजिम स्वीकृत गरेबाहेकका सबै किसिमका हातहतियार र त्यससँग सम्बन्धित सामग्रीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आपूर्ति, बिक्री वा हस्तान्तरण गर्न निषेध गर्न आह्वान पनि गरिएको छ ।

सुरक्षा परिषदमा उक्त प्रस्तावमाथि हुने मतदानको मिति तोकिएको छैन र यो स्वतः पारित हुने सम्भावना छैन किनभने परिषदका स्थायी सदस्य राष्ट्रहरू चीन र रसियाले इरानविरुद्धका प्रतिबन्धको म्याद बढाउन नहुने बताइसकेका छन् ।

साउदी अरेबियाको तेल केन्द्र अराम्कोमा सन् २०१९ मा आक्रमण हुँदा ठूलो क्षति पुग्नुका साथै विश्वकै तेल उत्पादनमा असर परेको थियो । उक्त आक्रमणको छानबिन गरेको राष्ट्रसङ्घले आक्रमणमा प्रयोग गरिएका क्रुज क्षेप्यास्त्र र ड्रोनका पार्टपुर्जाहरू इरानमै बनाइएका वा अन्यत्रबाट आयात गरिएका थिए ।

फ्रान्स, बेलायत र जर्मनीले यसअघि राष्ट्रसङ्घीय प्रतिबन्धहरू इरानमाथि एकपक्षीय रुपमा लगाउन नहुने बताउँदैआएका थिए । इरानले अन्तर्राष्ट्रिय प्रतिबन्धहरू फुकुवा गर्ने शर्तमा सन् २०१५ मा आणविक अस्त्र निर्माण कार्यक्रम स्थगित गर्ने सम्झौता गरेको थियो । तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौता अस्वीकार गर्दै इरानविरुद्ध अझ आक्रामक रणनीतिहरू अघि बढाउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?