logo
२०८१ असोज ९ बुधवार



अफगानिस्तानमा वकिलहरूको हत्या, अन्तर–अफगान वार्ताका लागि खलिलजादको आह्वान

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा वकिलहरूको हत्या, अन्तर–अफगान वार्ताका लागि खलिलजादको आह्वान
तस्विर-फाइल


काबुल, असार ९ गते। अफगान मामिलाका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्मे खलिलजादले अफगानी महान्यायाधीवक्ता कार्यालयका वकिलहरूको हत्याको भर्त्सना गर्दै उक्त हत्याकाण्डको छानबिन गर्न आग्रह गर्नुभएको छ । ती वकिलहरू सोमबार गरिएको आतङ्कवादी आक्रमणमा मारिएका थिए ।
खलिलजादले अफगान कारागारबाट कैदीबन्दी मुक्त गर्ने कार्यमा कागजी प्रक्रियामा संलग्न रहेका महान्यायाधीवक्ता कार्यालयका वकिल र टोलीका अन्य सदस्यहरूको हत्या अत्यन्त अमानवीय रहेको बताउँदै अमेरिकी सरकारले उक्त हत्याकाण्डको भर्त्सना गरेको जानकारी दिनुभयो ।
उहाँले ट्वीट गर्दै भन्नुभएको छ, “शान्तिका विरोधीहरूले उक्त आक्रमण गरी पाँच जनाको ज्यान लिएका छन् ।” अर्को ट्वीटमा उहाँले अगाडि भन्नुभयो, “यस आक्रमणले एउटै कुरा स्थापित गर्न खोजेको छः देशी विदेशी दुवै तत्त्वले अफगानिस्तानमा अस्थिरता र शान्ति प्रक्रियामा ढिलाइ चाहेका छन् ।” सोमबार भएको उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् ।
यसैबीच, उहाँले तालिबान र अफगान सरकार दुवैलाई अन्तर–अफगान वार्ताका लागि आवश्यक कदम चाल्न पुनः आह्वान गर्नुभएको छ ।
विशेष प्रतिनिधि खलिलजादले वार्तामार्फत जतिसक्दो चाँडो विस्तृत शान्ति सम्झौता गर्न र राजनीतिक समाधान निकाल्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “यही नै अफगान जनताले चाहेका छन् र हामी उनीहरूको चाहनामा एकमत छौँ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?