logo
२०८१ असोज ९ बुधवार



मेक्सिकोमा ७.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

अन्तर्राष्ट्रिय |


मेक्सिकोमा ७.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प


मेक्सिको, असार १० गते। मध्य अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मङ्गलबार ७.४ म्याग्नीच्युडको भूकम्प गएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पका कारण छ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
स्थानीय अधिकारीहरुले भूकम्पबाट जोगिन सयौँ मानिस घरबाहिर भाग्नुका साथै स्थानीय तेल प्रशोधन कारखाना पनि बन्द गर्नु परेको बताएका छन् । मेक्सिकोको राजधानी मेक्सिको सिटीभन्दा करिब ७०० किलोमिटर टाढाको ओक्जाका शहरका बासिन्दा भूकम्पको मुख्य झड्का र ससाना परकम्पबाट त्रसित बनेका छन् । मृत्यु भएका सबै व्यक्ति यही शहरका बासिन्दा हुन् । उनीहरूलाई भूकम्पका कारण भत्किएको घरले थिचेको थियो ।
कोरोनाभाइरसको महामारीका कारण शहर बजार बन्द गरेर घरभित्र बस्नुपरेका नागरिकलाई भूकम्पले सडकमा ल्याएको स्थानीयबासीको भनाइ छ । ओक्जाका शहरका ६० वर्षीय फूल बिक्रेता जुआ मार्टिनेजले बजारमा चहलपहल शुरु हुन नपाई भूकम्पले अर्को समस्या थोपरेको गुनासो गर्नुभयो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहभन्दा २३ किलोमिटरमुनि मात्र रहेको थियो ।
मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले भूकम्प निकै शक्तिशाली भए पनि बन्दरगाह, विमानस्थल, तेल प्रशोधन केन्द्रहरू र विद्युतगृह जस्ता रणनीतिक पूर्वाधारमा कुनै क्षति नभएको बताउनुभएको छ । मेक्सिकन आयलले ओक्जाकास्थित सालिना क्रुज प्रशोधन केन्द्रलाई पूर्व सावधानीका लागि बन्द गरिएको जनाएको छ । भूकम्पका कारण एउटा प्लान्टमा आगोसमेत देखिएको कम्पनीले जनाएको छ । यही प्रशोधन केन्द्रमा कार्यरत एक मजदुर माथिबाट लडेर मृत्यु भएको थियो ।
मेक्सिकन आयलले मुलुकका अन्य रिफाइनरी पूर्ववत रुपमा सञ्चालनमा रहेको जनाएको छ । भूकम्प गएको छ घण्टाको अवधिमा ४.६ म्याग्नीच्युडसम्मका ४४७ वटा परकम्प गएका अधिकारीहरूले बताएका छन् ।
भूकम्पबाट भएको जनधनको अरु क्षतिको विवरण सङ्कलन गर्ने तथा उद्धारका कार्यहरू भइरहेको मेक्सिकोको गृह मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?