logo
२०८१ असोज ९ बुधवार



जापानद्वारा अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिद स्थगित

अन्तर्राष्ट्रिय |


जापानद्वारा अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिद स्थगित


टोकियो, असार ११ गते । जापान सरकारले अर्बौं डलरको अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिदसम्बन्धी एक सम्झौता स्थगित गरेको छ । जापान सरकारले हाल उक्त कार्यक्रम नै स्थगित भएको जनाउँदै खरिद कार्य रोक्ने निर्णय गर्नुपरेको जनाएको छ ।
एजिस एशोर प्रतिरक्षा प्रणाली जापानका दुई स्थानमा तैनाथ गर्ने कार्यक्रम यसअघि घोषणा गरिएको थियो, तर यो प्रणाली निकै महँगो र आवश्यक नरहेको भन्दै विवादमा तानिएको थियो ।
क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट सिर्जना हुने जोखिमका बारेमा स्थानीयबासीले निरन्तर दबाव दिएपछि जापान सरकारले उक्त प्रणाली तत्काल खरिद नगर्ने निर्णय गरेको जापानको रक्षा मन्त्रालयले जनाएको छ ।
जापानका रक्षामन्त्री तारो कोनोले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीको एक बैठकमा भन्नुभयो, “राष्ट्रिय सुरक्षा परिषद्ले यसका बारेमा छलफल गरेको छ, र अकिता एवम् यामागुचीमा एजिस एशोर क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नराख्ने निर्णय भएको छ ।”
सरकारले शुरुमा यो प्रतिरक्षा प्रणाली रहने क्षेत्रका मानिसलाई उनीहरूका घरहरूमा कुनै पनि क्षेप्यास्त्र नखस्ने भन्दै आश्वस्त बनाएको थियो । तर गत साता उक्त अत्याधुनिक प्रणाली स्थगित गरेको घोषणा गरिएको थियो । रक्षामन्त्री कानोले यो हार्डवेयर जडान गर्न निकै समय र लागत दुवै लाग्ने बताउनुभएको छ ।
सन् २०१७ मा स्वीकृत भएको एजिस एशोर प्रणालीका लागि जापानले चार अर्ब २० करोड अमेरिकी डलर खर्च गर्न लागेको थियो । यो खर्च ३० वर्षका लागि हो । तर यसको लागत समयक्रममा अरु बढ्ने अनुमान गरिएको थियो । खासगरी उत्तर कोरियाले क्षेप्यास्त्र प्रणाली सुधार गरेपछि जापानले नयाँ अमेरिकी हतियार खरिद गर्ने प्रस्ताव अघि सारेको थियो । साथै, अमेरिकासँगको सम्बन्ध अझ सुदृढ बनाउन पनि यो हतियार किन्ने चाहना जापानले राखेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी गठबन्धनका मुलुकहरूलाई अमेरिकी हातहतियारसमेत अमेरिकी सामग्री बढी खरिद गर्न निरन्तर आग्रह गर्दैआउनुभएको थियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले गत साता एजिस एशोर प्रणालीको विकल्पमा अरु अमेरिकी सैन्य प्रणाली खरिद गर्ने बारेमा विचार गरिरहेको बताउनुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?