नयाँ दिल्ली , असार १३ गते।
भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले भारतका कोभिड १९ का सङ्क्रमितहरुमा निको हुने प्रतिशत ५८ रहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ– भारतमा कोभिड १९ का सङ्क्रमितहरुमध्ये ५८ प्रतिशत निको भएको छ ।
भारतमा शनिबारसम्ममा कम्तीमा पनि पाँच लाखलाई कोभिड १९ को सङ्क्रमण भएको र तीमध्ये कम्तीमा पनि तीन लाख मानिस निको भएर घर फर्र्किएका छन् । उहाँका अनुसार शनिबारसम्ममा यहाँका करिब तीन लाख सङ्क्रमितलाई निको भएको छ । अरु पनि धेरै जना यसबाट निको भएका र घरजाने अन्तिम तयारीमा रहेका जानकारी पनि उहाँले दिनुभयो ।
भारतका विभिन्न आठ राज्यका ती नागरिक निको भएर घर फर्किएका छन् । त्यसैगरी भारतमा निधन भएकाहरुमा ८७ प्रतिशत जति तिनै राज्यका नागरिक रहेका पनि उहाँले बताउनुभयो ।
त्यसैगरी उहाँले भारतमा सङ्क्रमितहरुको मृत्यु दर तीन प्रतिशत मात्र रहेको बताउनुभएको छ ।
उहाँले मृत्यु दर जम्मा तीन प्रतिशत रहेको जानकारी दिनुहुँदै मृत्युदर अन्य राष्ट्रको अपेक्षा कम भएको बताउनुभयो। पहिलेको तुलनामा दोब्बर हुने दर पनि बढेको उहाँले बताउनुभयो । उहाँले १९ दिनमा सङ्क्रमितको संख्या दोब्बर हुने गरेको जानकारी पनि दिनुभएको समाचारमा जनाइएको छ ।
कोरोना सङ्क्रमणको परीक्षण गर्ने संख्या पनि बढेको जानकारी उहाँले दिनुभयो । भारतमा १ हजार २० प्रयोगशालामा शुक्रबार मात्र दुई लाख ३० हजार जनाको परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले धरै भन्दा धेरै जनाको कोरोना परीक्षणको व्यवस्था सरकारले मिलाएको जानकारी पनि गराउनुभयो ।
त्यसैगरी सो सङ्क्रमणबाट १५ हजार जना भन्दा बढीको ज्यान गएको छ । गएको २४ घन्टायतामात्र १८ हजार भन्दा बढी नागरिक सङ्क्रमित भएको भेटिएका छन् । यो एकै दिन सङ्क्रमित भएकाहरुमा सबैभन्दा बढी संख्या हो ।
केही दिनयतादेखि हरेक दिन कम्तीमा पनि १४ हजार जना सङ्क्रमित हुने गरेका छन् । पछिल्लो समयमा थपिएका विरामीहरुका कारण भारतको अवस्था भयावह हुने देखिएको पनि बताइएको छ ।
स्वास्थ्य मन्त्री हर्षवर्धनले शनिबार कोरोना भाइरसको उपचारका लागि समन्वय गर्नुपर्ने भन्दै भारतका केन्द्रीय सरकार मन्त्रीहरुसँग भर्चुअल बैठक गर्नुभएको थियो । त्यसक्रममा उहाँले भारत सरकारले सङ्क्रमणको नियन्त्रणका लागि सक्दो प्रयासहरु गरिरहेको बताउनुभएको समाचारमा जनाइएको छ ।