logo
२०८१ असोज ११ शुक्रवार



रुसी राष्ट्रपतिको कार्यकाल बढाउने पक्षमा भारी बहुमत

अन्तर्राष्ट्रिय |


रुसी राष्ट्रपतिको कार्यकाल बढाउने पक्षमा भारी बहुमत
तस्विर-टाइम


मस्को, असार १८ गते। रुसी राष्ट्रपति भ्लादिभिर पुटिनलाई अर्को कार्यकाल राष्ट्रपतिको उम्मेदवार हुनेगरी मार्गप्रशस्त गर्न संवैधानिक सुधारसम्बन्धी जनमत सङ्ग्रहमा भारी बहुमत प्राप्त भएको छ । रुसी केन्द्रीय निर्वाचन आयोगले मतगणनाको अन्तिम नतिजा सार्वजनिक गर्दै संवैधानिक सुधारको पक्षमा ७७ दशमलव ९२ प्रतिशत मत प्राप्त भएको जनाएको छ । आयोगका अनुसार कुल मतदातामध्ये करिब ६५ प्रतिशतले मतदानमा भाग लिएका थिए ।

रुसी राष्ट्रपति पुटिनले संवैधानिक सुधारसम्बन्धी प्रस्तावमाथि जनताको अभिमत बुझ्न जनमत सङ्ग्रहका लागि आह्वान गर्नुभएको थियो जसमा राष्ट्रपतिको कार्यकालसमेत अन्य केही संवैधानिक सुधारका व्यवस्थाहरू रहेका थिए । उहाँको राष्ट्रपतिको वर्तमान कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदैछ । पछिल्लो जनमत सङ्ग्रहले पुटिनलाई अरु दुई कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार हुन मार्गप्रशस्त गरेको छ ।

यस्तै संविधान संशोधन प्याकेजमा राष्ट्रपति र संसदको अधिकार क्षेत्रलाई व्यापक बनाउने प्रस्ताव पनि अनुमोदित भएको छ । राष्ट्रपतिले रुसमा समलिङ्गी विवाहमाथि प्रतिबन्ध लगाउनसक्ने तथा मजदुरको न्यूनतम ज्याला एवम् निवृत्तिभरणको प्रत्याभूति गर्न पाउने व्यवस्थालाई नयाँ जनमत सङ्ग्रहले अनुमोदन गरेको छ ।

रुसका दुवै सदनले यसअघि नै संविधान संशोधनसम्बन्धी प्रस्तावलाई स्वीकृत गरिसकेका छन् तर राष्ट्रपति पुटिनले संविधान संशोधनलाई जनमत सङ्ग्रहमार्फत अनुमोदन गराउन चाहेको बताउनुभएको थियो । रुसमा राष्ट्रपति पुटिनका प्रखर आलोचक अलेक्सी नाभाल्नीले जनमत सङ्ग्रहको मत परिणामप्रति आश्वस्त हुन नसकिने बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?