logo
२०८१ असोज ११ शुक्रवार



डाकु समूहको आक्रमणमा २३ नाइजेरियाली सैनिकको मृत्यु

अन्तर्राष्ट्रिय |


डाकु समूहको आक्रमणमा २३ नाइजेरियाली सैनिकको मृत्यु


कानो, नाइजेरिया, साउन ५ गते । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिमस्थित दुर्गम स्थानमा डाकुहरूको समूहले बारुदी सुरुङ विस्फोट गराएका कारण २३ जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ ।
नाइजेरियाको काट्सिना राज्यको जिबिया जिल्लामा पैदल गस्तीमा रहेको सैनिक टोलीमाथि डाकुहरूले घेरा हालेर आक्रमण गरेको सेनाले जनाएको छ ।
सैनिक स्रोतले अरु केही सैनिक हराइरहेको जनाएको छ ।
यस क्षेत्रमा डाकाहरूको समूहले स्थानीयवासीका गाईवस्तु र अन्य धनमाल लुट्ने गरेका छन् । केही विज्ञहरूले यी डाकु समूहले इस्लामिक लडाकुसँग पनि साँठगाँठ गर्न थालेको दाबी गरेका छन् ।
लडाकू समूहका एक व्यक्तिले सेनातर्फ २३ जनाभन्दा बढीको मृत्यु भएको दाबी गरेका छन् । त्यही इलाकामा शनिबार एउटा बेवारिसे बम बिस्फोट हुँदा पाँच बालबालिकाको मृत्यु हुनुका साथै छ जना घाइते भएको काट्सिना राज्यका प्रहरी प्रवक्ताले बताएका छन् । उक्त बम डाकुहरूले छाडेको हुनसक्ने प्रहरीको अनुमान छ ।
नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीको समेत गृहराज्य रहेको काट्सिनामा बहुसंख्यक नागरिक चरम गरिब छन् । यही राज्यमा पछिल्ला केही वर्षदेखि शान्ति सुरक्षाको अवस्था अत्यन्त नाजूक बनेको छ ।
नाइजेरियाली सेनाले डाकुहरूले आश्रय लिने गरेको यस क्षेत्रको विशाल जङ्गलमा गस्ती बढाएको छ, तर सेनाको सङ्ख्या पर्याप्त नभएको स्थानीयको गुनासो छ । बरु स्थानीयवासी स्वयंले आत्मरक्षाका लागि ससाना समूह बनाएर गाउँको सुरक्षा गर्ने गरेका छन् ।
नाइजेरियाली यी डाकु समूहले सन् २०११ देखि यता आठ हजारभन्दा बढी व्यक्तिको हत्या गरिसकेका छन् भने दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?