logo
२०८१ असोज ११ शुक्रवार



साउदी राजाद्वारा अस्पतालबाटै मन्त्रिपरिषद्को अध्यक्षता

अन्तर्राष्ट्रिय |


साउदी राजाद्वारा अस्पतालबाटै मन्त्रिपरिषद्को अध्यक्षता
तस्विर–सीजीटीएन अफ्रिका


रियाद, साउन ७ गते । बिरामी भएर अस्पतालमा उपचार गराइरहनुभएका साउदी अरेबियाका राजा सल्मानले मङ्गलबार साँझ अस्पतालबाटै भर्चुअल माध्यमबाट मन्त्रिपरिषद्को अध्यक्षता गर्नुभएको छ ।

साउदी प्रेस एजेन्सी (एसपिए) का अनुसार साउदी राजा पित्तथैली सुन्निएपछि गत सोमबार किङ फैजल विशिष्टीकृत अस्पतालमा भर्ना हुनुभएको थियो । राजा सल्मानका लागि अस्पतालमा विशेष कक्षको व्यवस्था पनि गरिएको छ जहाँ भर्चुअल बैठकका लागि आवश्यक विद्युतीय सामग्रीहरूको प्रबन्ध गरिएको छ ।

राजा सल्मानले आफ्नो स्वास्थ्यप्रति सदभाव दर्शाउने सबैप्रति आभार प्रकट गर्नुभएको पनि एसपिएले जनाएको छ । मन्त्रिपरिषद् बैठकमा मक्कामा हुने आगामी हज तीर्थयात्राको व्यवस्थापनका बारेमा छलफल भएको थियो । कोरोनाभाइरस महामारीका कारण यस वर्ष हज तीर्थयात्रामा सहभागी हुनेहरूको सङ्ख्यामा व्यापक कटौती गरिएको छ ।

साउदी अधिकारीहरूले साउदी अरेबियानिवासी करिब एक हजार व्यक्तिलाई मात्र मक्का प्रवेशको अनुमति दिइने यसअघि प्रस्ताव गरेका थिए । तर हाल यसमा संशोधन गरी करिब १० हजारलाई हजको अनुमति दिइन लागेको साउदी सञ्चारमाध्यमहरूले जनाएका छन् । विगतमा विश्वभरबाट हरेक वर्ष करिब २५ लाख व्यक्तिले मक्कामा हज गर्ने गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?